सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पत्रकार र प्रहरीका असईले नै लुटपाट गरेपछी

लुटपाट गर्नका लागि काठमाडौंबाट मकवानपुर पुगेको प्रहरीकै समूहलाई इलाका प्रहरी कार्यालय पालुङको प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरवारमार्गमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेन बस्याल, प्रहरी जवानद्वय हेमकान्त मगर र वीरबहादुर बस्नेत तथा पत्रकार सुजन आचार्य र अर्का एकजना मकवानपुरको पालुङबाट पक्राउ परेका हुन् ।

पूर्व तयारीका साथ काठमाडौंबाट लुटपाट गर्ने उद्देश्यले उनीहरु मकवानपुर पुगेको मकवानपुर प्रहरीले जनाएको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयको सिआरभी टोलीमा कार्यरत उनीहरु लुटपाटको उद्देश्यले नै काठमाडौंबाट मकवानपुरको कैलाश गाउँपालिका पुगेका थिए । कैलाश गाउँपालिकाका एक व्यक्तिसँग हिरा किन्ने भन्दै उनीहरु काठमाडौंबाट मकवानपुर पुगेका थिए ।

thief

तर कैलाश गाउँपालिकामा उनीहरुले हिरा लिई आफूहरु प्रहरी भएको र हल्ला गरे फसाइदिने भन्दै हिरा लिएर भागेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय पालुङका इञ्जार्च प्रहरी निरीक्षक विकास तामाङ नेतृत्वको टोलीले उनीहरुलाई पालुङबाट पक्राउ गरेको हो ।

हिरा लुटेर भाग्दै गर्दा उनीहरुलाई प्रहरीले रोकी खानतलासी गरेको थियो । आइतबार साँझ पक्राउ परेका उनीहरुले हालसम्म केही पनि बताएका छैनन् । उनीहरुलाई यतिबेला जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिँदै छ ।

यसै सम्बन्धमा के भएको हो भनी महानगरीय आयुक्त कार्यालयका डिआइजी विश्वराज पोखरेललाई सम्पर्क गर्दा उनीहरुलाई कडा भन्दा कडा कारवाही हुने बताए । सिआरभी टोलीलाई महानगरीय आयुक्त कार्यालयले खटाउने गर्छ ।

यद्यपि उनीहरु दरवारमार्ग वृत्तमा रहेर काम गर्दै आएका थिए । सिआरभी टोलीको डुयुटी १२ घण्टाको हुने र उनीहरु आफ्नो ड्युटी सकेर कार्यालयबाट हिँडेको जानकारी आएको डिआइजी पोखरेलले बताए ।

उनले भने ‘लुटपाटमा संलग्न जो भएपनि उनीहरुलाई कारवाही त भई नै हाल्छ । अझ उनीहरु त बर्दी कै प्रहरी भएको भएपछि बर्दीमै अपराध गर्नेलाई कुनै पनि हालतमा नछोडिने र थप कारवाही गर्ने डिआइजी पोखरेलले बताए । उनीहरुलाई प्रहरी संगठनमा बस्ने कुनै अधिकार नरहेको भन्दै यसबारे थप बुझेर जानकारी दिने उनले बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्