सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कोरोनाले झन बलियो चीन, चिनियाँ युगको प्रारम्भ

अहिले विश्वलाई आक्रान्त पारिरहेको कोरोना भाइरससँग कसरी लड्ने भन्ने ज्ञान आजको मानव जातिसँग छैन। त्यसैले पृथ्वीको ठुलो जनसङ्ख्या यसको चपेटामा पर्ने चिन्ता व्याप्त छ ।

मानिसलाई अहिले सेल्फ क्वारेन्टाइन, आइसोलेशन, पुरै सहर लक डाउन जस्ता शब्द अनौठा लागिरहेका छन् । यो एक अभुतपुर्व स्मृति बन्ने देखिँदै छ ।

अहिले हामी जे गरिरहेका छौँ त्यो कुनै पूर्वजको मार्ग निर्देशन बिना नै भइरहेको छ । अनि यो बेला विश्व शक्ति सन्तुलन कुन अवस्थामा रहेछ भन्ने समेत नयाँ तथ्य फेला परेको छ ।

विश्व एकातिर कोरोनासँग कसरी जुध्ने भन्ने चिन्तामा छ भने केही अर्थशास्त्रीहरु यो ‘२१ औँ शताब्दीको पहिलो र सबैभन्दा ठुलो विश्वव्यापी सङ्कटको सामना गरिसकेपछि विश्वले चीनमाथिको आफ्नो निर्भरताका आधारभूत आधारहरूबारे पुनर्विचार गर्नुपर्दछ ।’

यो त्यसै भनेको छैन किनकि चिनियाँलाई हेप्ने, चीनको सधैँ खिसीट्युरी गर्ने र मानव अधिकारको न्यूनतम मान्यताको समेत ख्याल नगर्ने जङ्गली र असभ्यहरूको देश भन्ने अमेरिकीहरू अहिले महसुस गरिरहेका छन् कि वास्तव मै ती सबै आरोप र अपहेलनका बवजुध चीनले के गरिसकेको रहेछ ।

China

मानव स्वास्थ्य देखभालका सबैभन्दा आधारभूत उत्पादन र औषधी जस्तैस् फेस मास्कदेखि फार्मास्यूटिकल औषधिहरू पेनिसिलिन र आईबुप्रोफेन समेतमा अमेरिका कसरी चीनमा भर परेको रहेछ भन्ने प्रमाणित भएको छ । हुन पनि तथ्यले के देखाएको छ भने अमेरिकामा प्रयोग हुने आधा जति एन्टीबायोटिक र लगभग पुरै आईबुप्रोफेन चीनले आपूर्ति गर्दै आइरहेको थियो ।

आफूलाई चीनका अनुभवी पर्यवेक्षक भनी दाबी गर्नेहरू पनि अहिले कसरी चित खाइरहेका छन् कि चीनको आर्थिक वृद्धि सुस्त भएको छ भन्ने उनीहरूको रिडिंग असत्य साबित बन्ने देखिंदैछ। विगतको एक सन्तान नीतिको कारण चीनमा काम गर्न सक्ने उमेरको जनसङ्ख्या कम र अशक्तको सङ्ख्या बढ्दै छ भनेर गरेका विश्लेषण सही त हुन् तर त्यो जनसङ्ख्यालाई कसरी उत्पादनमा जोडी राख्ने भन्ने चीनको नीतिबारे भने उनीहरू बेखबर छन् भन्ने देखिन्छ ।

चीनको कानुनी प्रणाली र तथ्याङ्कहरू नै अविश्वसनीय छन् भन्ने अर्को आरोप छ । त्यसबाहेक चीनको सार्वजनिक स्वास्थ्य सेवा सुस्त, असक्षम भन्ने आरोप र पश्चिमेली विश्वास देखिन्थ्यो यो पनि गलत प्रमाणित भएको छ ।

वास्तवमा चीनको यो रोग आफैमा एक अवसर बनेको छ । उसले विश्वव्यापीताको नयाँ अवसर प्राप्त गरेको छ । आफ्ना चुनावी भाषणमा चीनको सस्तो सामानले आफूहरूलाई गाह्रो र्पयो भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई अहिले उनैलाई बोझिलो बन्ने देखिएको छ । किनकि अब अमेरिका चीनको सस्तो बस्तु समेत निकै सोचेर मात्र किन्नुपर्ने गरी आर्थिक रूपमा थला पर्ने सम्भावनालाई केही अर्थशास्त्रीले महत्वका साथ सार्वजनिक गर्न थालेका छन् ।

विश्वव्यापी आपूर्ति शृङ्खला (ग्लोबल सप्लाई चेन) मार्फत लागतलाई सधैँ घटाउने उद्देश्य राखेको देखिन्छ । तर के त्यो अब सम्भव छ ? यो प्रश्न यसकारण गरिँदै छ कि अरू देश पूराका पुरा शक्ति एकीकृत गरेर कोरोना विरुद्ध लडिरहेको बेला चीनले आफ्ना फ्याक्ट्रीहरू सञ्चालनमा ल्याइसकेको छ । उसले उत्पादन सुरु गरिसकेको छ । र, विश्वलाई आपूर्ति गर्न उ तम्तयार रहने देखिन्छ ।

अन्ततः चीनले फेरी एक पटक उ माथि भइरहेका शृङ्खलाबद्ध आक्रमणमा विजय प्राप्त गरेको छ । अमेरिकाले गरेको व्यापार युद्धमा उसलाई घुँडा टेकाएपछि चिनियाँले फेरी अर्को युद्ध जितेका हुन् । चिनियाँहरूकै शब्दमा भन्दा ‘अमेरिका द्वारा गरिएको जैविक आक्रमण’को उनीहरूले ‘जनयुद्ध’ मार्फत जवाफ दिएका छन् । अब चीनको युगको सुरुवात भएको छ । कोरोनाले युग परिवर्तन गरिदिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS