बाग्लुङकी युवतीमा देखियो कोरोना भाईरस
नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिएका छिन् । बेल्जियमबाट आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । ती संक्रमित बागलुङकी हुन् ।
२२ वर्षीया ती महिला चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । उनी कतार एयरको क्यूआर ६५२ फ्लाइबाट आएकी थिइन् । काठमाडौँ बाहिरको कोरोना संक्रमित भेटिएका यो दोस्रो केश रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन् ।
त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेकी युवतीलाई पनि धौलागिरि अस्पतालमा नमुना संकलन गरिएको थियो ।
नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएको, तर आफ्नै घरमा बसेको उच्च स्रोतले बताएको छ । अहिले कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
हालसम्म ८७५ वटा टेस्ट भएको र ३२ वटा परीक्षणका क्रममा रहेको मन्त्रालयले जनाएको छ । टेकु अस्पतालमा १० जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्