सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कास्कीमा कोही कोरोना संक्रमित भेटिएको छैन

यसअघि सञ्चारमाध्यममा कोरोना संक्रमित भेटिएको भनिएकोमा कास्कीमा हालसम्म संक्रमित नभेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रस्ट पारेको छ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले पोखराबाट केही नमुना थप परीक्षणको लागि केन्द्रीय प्रयोगशालामा पठाएको बताएका छन् ।

यस्तै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पनि कास्कीमा कोरोना संक्रमित हालसम्म फेला नपरेको जानकारी दिएका छन् । ‘मेसिन नयाँ भएकोले दोहोरो, तेहोरो परीक्षण गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘दोहोरो चेक नगरी रिजल्ट बाहिर आउँदैन ।’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको पीसीआर मेसिनमा जाँच गरिएका स्वाब केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण भइरहेको उनले बताएका छन् ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पोखराको मेसिनको नतिजा शंकास्पद लागेपछि पुनः परीक्षणको लागि शुक्रबार विहान केन्द्रीय प्रयोगशाला पठाएको बताएका थिए । ‘हाम्रोमा नयाँ मेसिन छ, जनशक्ति दक्ष भइसकेका छैनन्,’ उनले भने, ‘केही शंकास्पद स्वाब पठाइएको मात्रै हो । कोरोना पुष्टि भइसकेको होइन । पोजिटिभ देखिन पनि सक्छ, नदेखिन पनि सक्छ ।’

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका नवराज शर्माले प्रयोगशालाले पहिलो जानकारी केन्द्रलाई गराउनुपर्ने भएपनि त्यस्तो रिपोर्ट हालसम्म नआएको पुष्टि गरेका छन् । नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबै विदेशबाट आएका हुन् । कोरोनाको पहिलो संक्रमित विरामी चीनबाट आएका थिए ।

त्यसमा पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए । सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखिएको थियो । त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आएको थियो । त्यसको चार दिनपछि उनीहरुसँगै आएकी ६५ वर्षीया वृद्धामा कोरोना संक्रमण भेटिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS