सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोना भाइरसका कारण ७ जना नेपालीको मृत्यु

कोभिड १९ का कारण विश्वभर मृत्यु हुनेको संख्या यो समाचार तयार पार्दासम्म ८२ हजार २ सय १६ पुगेको छ । संक्रमित हुनेको संख्या १४ लाख ३४ हजार ९ सय २५ पुगेको छ । त्यस्तै तीन लाख ९ हजार ८ सय ४ जना निको भएका छन् ।

मृत्यु हुनेमा सबैभन्दा धेरै इटलीका रहेका छन् । इटलीमा मृतकको संख्या १७ हजार एक सय २७ पुगेको छ । त्यहाँ संक्रमितको संख्या एक लाख ३५ हजार पाँच सय ८६ पुगेको छ । स्पेनमा मृतक संख्या १४ हजार ४५ र संक्रमितको संख्या एक लाख ४१ हजार नौ सय ४२ पुगेको छ ।

संयुक्त राज्य अमेरिकामा मृतक संख्या १२ हजार ९ सय ३५ पुगेको छ भने संक्रमितको संख्या ४ लाख २ हजार ९ सय ८३ पुगेको छ । न्युयोर्कमा मात्र मृतक संख्या पाँच हजार नाघेको छ । न्युयोर्कमा मंगलबार एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको छ ।

Coronavirus Test

बुधबारको डाटा आउन बाँकी छ । बुधबार ८ सय भन्दा माथीको मृत्यु हुने अनुमान गरिएको छ । गभर्नर एन्ड्रयु कुमोकाअनुसार मंगलबारसम्म न्युयोर्कमा मृत्यु हुनेको संख्या पाँच हजार चार सय ८९ पुगेको छ । संक्रमितको संख्या भने एक लाख ३८ हजार आठ सय ३६ पुगेको छ ।

फ्रान्समा मृतक संख्या १० हजार ३ सय २८ पुगेको छ भने संक्रमितको संख्या एक लाख १० हजार ७० पुगेको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङमा बताएअनुसार सात हजार ९१ जनाको अस्पतालमा र तीन हजार दुई सय ३७ जनाको केयर हाउसमा मृत्यु भएको हो ।

फ्रान्सको अस्पतालमा हाल करिब ३० हजार जना उपचाररत छन् । जसमा सात हजार भन्दा बढी गम्भीर अवस्थाका छन् । बितेको २४ घण्टामा फ्रान्समा छ सय सात जनाको मृत्यु भएको छ ।

बेलायतमा मृतक संख्या ६ हजार एक सय ७० र संक्रमितको संख्या ५५ हजार हजार नौ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा बेलायतमा सात सय ५८ जनाको मृत्यु भएको छ ।

बिश्व महामारीका रुपमा फैलिएको कोरोनाका कारण नेपाल भित्रै अहिलेसम्म त्यस्तो ठुलो मानविय क्षति नभए पनि देशबाहिर बेलायत र अमेरिकामा गरेर ७ जना नेपालीको ज्यान गएको आधिकारिक पुष्टि भएको छ ।

कोरोनाका कारण अमेरिकामा पाँचथर घर भएका ५० बर्षिय अनिल सुब्बाको निधन भएको छ भने बर्ष ४० का सोनाम लामा, ४८ बर्षिय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र काठमाण्डौ घर भएका अजयमान छोचु रहेको बताइएको छ ।

अमेरिकामा ६ सयको हाराहारीमा नेपालीलाई कोरोना संक्रमण भएको अनुमान गरिएको छ । अमेरिकास्थित महावाणिज्य दुतावासमा हालसम्म ३ जनाले मात्रै कोरोना भएको जानकारी गराए पनि न्युयोर्क लगायतका शहरमा ठुलो संख्यामा नेपाली संक्रमित भएको बताइएको छ ।

त्यसैगरी उता वेलायतको लण्डनमा कोरोनाका कारण भुतपुर्व गोर्खा सैनिक ६६ बर्षिय लिलाबहादुर राईको निधन भएको छ भने चितवन घर भएका ४० बर्षिय प्रसान्त अर्यालको पनि कोरोनाकै कारण निधन भएको छ । नेपाल बाहिर विश्वका बिभिन्न देशमा रहेका करिब १ हजार नेपाली कोरोना संक्रमित भएको आशंका गरिएको छ ।

नेपालमा हालसम्म ९ जनामा कोरोना भाइरसको संक्रमण भएको आधिकारीक पुष्टि भएको छ । संक्रमित ९ जनामध्ये पहिलो संक्रमित चिनबाट आएका बिद्यार्थी निको भएर घर फर्किसकेका छन् । अन्य ८ जनाको उपचार भईरहेको छ ।

नेपालमा हालसम्म कोरोना लागेको आशंकामा २ हजार १ सय २२ जनाको परिक्षण गरिसकिएको छ । परिक्षण गरिएकामध्ये २ हजार १ सय १३ जनामा संक्रमण देखिएको छैन । हाल १ सय जनाको आइसोलेसनमा राखेर उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन सरकारले बैशाख ३ गतेसम्म लकडाउन गरेको छ भने बैशाख १८ गतेसम्म सबै अन्र्तराष्ट्रिय उडानहरु बन्द गरेको छ । उद्धार, मेडिकल लगायत मानवीय सहायता सम्बन्धी चार्टर र कार्गो उडान भने सञ्चालन हुने छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्