सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

काठमाण्डौ छोड्न चाहानेलाई सरकारले नै लैजाने

सरकारले लक डाउनका कारण काठमाडौं उपत्यकामा अड्किएकाहरूलाई शुक्रबार र शनिबार घर जान दिने निर्णय गरेको छ । बिहीबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र केही मन्त्रीबीच भएको अनौपचारिक बैठकले दुई दिनका लागि नागरिकलाई बाहिर जान दिने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा समितिका संयोजक ईश्वर पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठका अनुसार घर जान चाहनेहरूलाई सरकारले नै गाडीको व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

समितिको यस्तो निर्णयपछि अहिले गृह मन्त्रालयमा सरोकारवालाहरूको बैठक बसिरहेको छ । गृह प्रवक्ता केदारनाथ शर्माले भनेका छन्–‘कसरी पठाउने भन्नेबारे हामीले छलफल गरिरहेका छौं, साँझसम्म मोडालिटी तयार गर्छौं ।’

सरकारले स्थानीय तहसँग समन्वय गरेर नागरिकहरूलाई फिर्ता पठाउने तयारी गरिरहेको छ । चैत ११ गतेदेखि लक डाउन भएपछि धेरै मानिसहरू काठमाडौंबाट हिँडेरै गन्तव्यमा गइरहेका थिए । सुरूमा एक हप्ताका लागि गरिएको लक डाउनको समय अहिले तीन हप्ता र्पुयाइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्