सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चिकित्सक कोरोना संक्रमितको कोठामै जाँदैनन्

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया युवती धौलागिरी अस्पतालमा गराइरहेकी छिन् । अस्पतालको तेस्रो तलामा बनाइएको आइसोलेन वार्डमा बसेको १२ दिन भइसक्यो ।

उनलाई बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिफोन गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । अहिले ज्वरो आए नआएको, खोकी लागे नलागेको सोधे र धेरैभन्दा धेरै तातोपानी खान पनि सुझाए ।

कुराकानीका क्रममा मुख्यमन्त्री गुरुङले सोधे–‘डाक्टर दिनमा कतिपटक आउनुहुन्छ ?’ जवाफमा उनले भनिन–‘हेर्न आउनु हुन्न । फोन गर्नुहुन्छ ।’ मुख्यमन्त्रीले फेरि सोधे, कोठामा नै आउनुहुन्न ?’ विरामीले नआउने गरेको जानकारी गराईन ।

संक्रमित युवतीका बुवा ऋषिराम सापकोटाले पनि अस्पतालमा उपचाररत छोरीलाई कोरोना संक्रमणले भन्दा एक्लोपनले सताएको बताएका छन् । छोरीलाई उधृद्ध गर्दै सापकोटाले भने–‘दिनको दुई पटक नर्सहरु खाना लिएर आउँछन्, डाक्टरहरु आउँदैनन् । फोनमा के कसो भयो भनेर सोध्छन् ।’

युवतीका बाबु सापकोटाले भनेका छन्–‘बन्द कोठामा एक्लै बस्नु पर्दा छोरी निकै आत्तिएकी छे । दुई पटक नर्स आउँछन् । यसबाहेक कोठाको भित्ताबाहेक उसले केही देख्न पाउँदिन ।’

धौलागिरि अञ्चल अस्पताल, बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले भने संक्रमित युवतीलाई भेट्न चिकित्सक नियमित जाने गरेको दाबी गरेका छन् । डा.पोखरेलले भनेका छन्–‘पीपीई लगाएर गएकाले उनले नचिनेको होला ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्