नेट काट्न थालेपछी वल्र्डलिंक बहिस्कार अभियान
लकडाउनका बेला पैसा नतिर्ने ग्राहकहरुको इन्टरनेट काट्न थालेपछी प्रयोगकर्ताले वल्र्डलिंकको इन्टरनेट बहिस्कार गरौँ अभियान सुरु गर्न थालेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न जारी गरिएको लकडाउनमा बाहिर हिँडडुल गर्न नपाईने कुरा थाहा हुँदाहुँदै पनि वल्र्डलिंकले ग्राहकलाई पैसा तिर्न ताकेता गर्नु गैरजिम्मेवार र अमानविय व्यवसायिक सोच भएको प्रयोगकर्ताले बताएका छन् ।
प्रयोगकर्ताले लकडाउन खुल्ने बित्तिकै तिर्छौँ, यस्तो बेलामा पैसाको मुख मात्रै नहेर्नु, अलिकति मानवियता पनि देखाउनुस् न, बरु ब्याज सहित तिरौँला भन्दा पनि इन्टरनेट काटिदिएको प्रयोगकर्ताको गुनासो छ । वल्र्डलिंकले ग्राहकसंग अमानविय गैरव्यवसायिक व्यवहार गरेकाले सबै प्रयोगकर्ताले वल्र्डलिंक बहिस्कार अभियान सुरु गर्नुपर्ने बताउन थालेका छन् ।
इन्टरनेट सेवा प्रदायक अरु कम्पनी भएकाले वल्र्डलिंक नै चलाउनुपर्छ भन्ने बाध्यता नभएको बरु नेपाल टेलिकमकै नेट चलाउनु ठिक हुने भन्दै वल्र्डलिंकका प्रयोगकर्ताले वल्र्डलिंकप्रति आक्रोस व्यक्त गर्न थालेका छन् ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई इन्टरनेटमा ग्राहकलाई सुविधा दिन आग्रह गरिरहेको बेला वर्ल्डलिंकले भने पैसा नबुझाउने ग्राहकको लाइन नै काटिदिएको ग्राहकले गुनासो गरेका छन् ।
लकडाउनको सुरुका केही दिनमा लाइन नकाटेको वल्र्ड्लिंकले लाइन काट्नथालेपछि अहिले पैसा सिद्धिएका ग्राहक इन्टरनेट पहुँचबाट वञ्चित भएका छन् । त्यसमाथि वर्ल्डलिंकको इन्टरनेट साह्रै ‘स्लो’ हुनथालेको यसका ग्राहकहरुले बताएका छन् । रातोपुल बस्दै आएका कम्पनीका एक ग्राहकले भने, ‘बिहान दिउँसो ठीकै चल्छ, राति हुनथालेपछि साह्रै स्लो छ ।’
लकडाउनको बेलामा पनि मुलुकभरका विभिन्न शाखा निश्चित समयको लागि खुलेको र अनलाइन भुक्तानी समेत गर्न सकिने भएकाले ग्राहकलाई शुल्क पछि तिर्ने कुनै सुविधा नभएको वल्र्डलिंकका निर्देशक लक्ष्मण यादवले बताएका छन् ।
मासिक शुल्क तिर्नुपर्ने ग्राहकले अनलाइनबाट वा नजिकको शाखामा गएर मासिक शुल्क तिर्न सक्ने यादवले बताएका छन् । ‘पैसा अनलाइनबाट तिर्दा हुन्छ, नभए हाम्रा शाखाहरु खुलिरहेका छन् । ती शाखामा गएर शुल्क तिर्दा हुन्छ’, यादवले भनेका छन्–‘सुरुमा हामीले त्यत्तिकै एक्सटेन्ड गरिदिएका थियौं । अहिले छैन ।’
उनले भनेजस्तै वल्र्डलिंकले मुलुकभरमा शुल्क तिर्न सक्ने शाखाहरु खोलेको छ । ठाउँअनुसार बिहानको समयमा शुल्क तिर्न सकिने भनेर शाखाको सूची आफ्नो वेबसाइटमा राखेको छ । वल्र्डलिंकले अनलाइन वा शाखामा पुगेर मासिक शुल्क तिर्न सकिने भने पनि सहज भने नभएको ग्राहक बताउँछन् । सबै ग्राहकले अनलाइनमार्फत पैसा तिर्न सक्दैनन् ।
अर्कोतिर, वर्ल्डलिंकले भने जस्तै शाखा पुगेर शुल्क तिर्न सक्ने अवस्था छैन । सरकारले लकडाउनमा कडाइ गरेकाले नजिकको शाखा पुग्न सक्ने अवस्था नै छैन । प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले इन्टरनेटको शुल्क तिर्न भनेर कोही पनि बाहिर हिँड्न नपाउने बताएका छन् ।
‘तपाईंले भनेअनुसार शाखा खोलिएको बारेमा हामीलाई थाहा छैन,’ बोगटीले भनेका छन्–‘तर शुल्क तिर्न भनेर कोही बाहिर हिँड्न पाउने अनुमति छैन ।’ मुलुकमा लकडाउन सुरु भएको तीन हप्ता हुनलागेको छ । अत्यावश्यक कामबाहेक कोही पनि बाहिर निस्किन पाएका छैनन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्