युकेबाट आएको २८ दिनपछी कसरी देखियो कोरोना ?
चैत ५ गते बेलायतबाट आएर पेप्सिकोलास्थित सनसिटी अपाटर्मेन्टमा बसिरहेका एकै परिवारका तीनजनाको र्यापिड टेस्ट गर्दा पोजेटिभ आएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरियो ।
त्यसको भोलिपल्ट टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आमा र छोरामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखियो, तर बुहारीको पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएन ।
बिरामीको ट्राभल हिस्ट्री हेर्दा यो संक्रमण आयातित जस्तो देखिन्छ । तर, बेलायतबाट आएको २८ दिन भइसकेकाले स्थानीय संक्रमण त होइन भन्ने आशंका उब्जाएको छ ।
तर, त्यसो हुने सम्भावना कम रहेको संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी बताउँछन् । उनका अनुसार पेप्सीकोलामा देखिएको संक्रमणले दुई वटा सम्भावनालाई संकेत गर्छ ।
पहिलो संकेतः तीनमध्ये एकजना (बुहारी)लाई बेलायतमा हुँदा नै कोरोना भाइरसको संक्रमण भएको थियो । र, उनकै माध्यमबाट आमा र छोरालाई संक्रमण भएको हुन सक्छ ।
र्यापिड टेष्टको रिपोर्टले पनि त्यही संकेत गर्छ । किनकि पीसीआर विधिबाट गरिएको पहिलो परीक्षणमा पोजेटिभ रिपोर्ट नआए पनि र्यापिड टेष्टमा पोजेटिभ देखिएको छ । र, एन्टी बडीमा आधारित र्यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आउनु भनेको कोरोना संक्रमण भएर उनको शरीरमा भाइरस प्रतिरोधी शक्ति विकास हुनु हो ।
जनस्वास्थ्य विज्ञहरुका अनुसार कोरोना संक्रमणको पहिलो चरण पीसीआर मात्र देखिन्छ भने दोस्रो चरण पीसीआर र र्यापिड दुबैमा पोजेटिभ रिपोर्ट आउँछ । तेस्रो चरण भन्दामाथि अर्थात निको हुने क्रममा वा भइसकेका अवस्थामा एन्टीबडी बेस्ड र्यापिड टेस्टमा पोजेटिभ र पीसीआर टेस्ट गर्दा नेगेटिभ आउँछ ।
त्यसो भए बुहारीबाट आमाछोरालाई बेलायतमा हुँदा नै संक्रमण र्सयो कि नेपालमा आएर ? किनकि उनीहरु नेपाल आएको चार साता भइसक्यो । आमाछोरामा अहिले बल्ल संक्रमण देखिएको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत गराइरहेका दोस्रो र तेस्रो संक्रमितको उदाहरण दिँदै डाक्टर सुवेदी भन्छन्–‘उहाँहरु अस्पताल भर्ना हुनुभएको तीन साता पुग्न लाग्यो । लक्षण पनि छैन । तर, पीसीआर विधिबाट तेस्रो पटक टेस्ट गर्दा पोजेटिभ आएको छ । यो केस पनि त्यस्तै हुन सक्छ ।’
अर्थात आमा छोरा बेलायतमा हुँदै नै संक्रमित भएका हुनसक्छन् । उताबाट आउनासाथ परीक्षण गरेको भए संक्रमण देखिन सक्ने सम्भावना रहेको बताउँदै उनी भन्छन्–‘अहिलेसम्मको अवस्था हेर्दा उहाँहरुको संक्रमणको स्रोत आयातीत थियो भन्ने बुझ्न सकिन्छ । तर, यही हो भनेर ठोकुवा गरेर भन्न सकिन्न ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन र्यापिड टेस्ट गर्दा नतिजामा इम्यूनोग्लोब्यूलिन–एम एण्टीबडी देखिएको हो भने यो नयाँ संक्रमण हो भन्ने बुझिने बताउँछन् । इम्यूनोग्लोब्यूलिन–जी एण्टीबडी आयो भने संक्रमित व्यक्तिमा भाइरस निश्क्रिय हुने क्रममा रहेको बुझ्नुपर्छ । अर्थात संक्रमितहरुको शरीरमा भाइरस प्रवेश गरेको २८ देखि ३० दिन हुन सक्छ ।
उनका अनुसार इम्यूनोग्लोब्यूलिन–एम एण्टीबडी मानव शरीरमा कोरोना संक्रमण भएको केही दिनमै उत्पादन हुन्छ भने इम्यूनोग्लोब्यूलिन–जी एण्टीबडी संक्रमण भएको केही समयमा ।
यो केसमा इम्युनोग्लोब्यूलिन–एम एण्टीबडी देखिएको हो भने वैज्ञानिकका लागि केस हिस्ट्री हुने उनी बताउँछन् । भन्छन–‘पीसीआर जाँच गर्दा पोजेटिभ देखिने केस भनेको धेरैमा १४ देखि २८ दिनसम्म हो । तर, त्यो बेला इम्यूनोग्लोब्यूलिन–जी एण्टीबडी देखिन्छ । भाइरस संक्रमण निश्क्रिय हुने अवस्थामा हुन्छ ।’
त्यसैले इम्युनोग्लोविन एण्डीबडी नहेरी अहिले केही भन्न नसकिने बताउँदै डा. पुन भन्छन्–‘अबको २ देखि ५ दिनभित्र पुनः जाँच गर्दा उनीहरुको दोस्रो रिपोर्ट नेगेटिभ आयो भने यो केस आयातित भन्ने बुझ्नुपर्छ । तर, पोजेटिभ आयो भने स्थानीय संक्रमणको शंका गरेर नयाँ तरिकाले बहस गर्न सकिन्छ ।’
किनकि, ३० देखि ३५ दिनसम्म पीसीआर जाँच गर्दा पोजेटिभ भेटिएको केस दुर्लभ हुन्छ । त्यसो भए पीसीआर जाँच गर्दा पोजेटिभ देखिएको सनसिटीको आमा छोराको र्यापिड टेस्ट गर्दा इम्यूनोग्लोब्यूलिन–एम एण्टीबडी देखियो कि इम्यूनोग्लोब्यूलिन–जी एण्टीबडी ?
स्वास्थ्य मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाकार डाक्टर खेम कार्कीका अनुसार कोभिड–१९ जाँच्न सरकारले प्रयोगमा ल्याएको र्यापिड डायग्नोस्टिक किटले मानव शरीरमा कोरोना भाइरसविरुद्ध लड्ने एन्टीबडी बने–नबनेको मात्र पत्ता लगाउँछ । किटले कोभिड–१९ को भाइरस पहिचान गर्न भने सक्दैन ।
विज्ञ सल्लाहकार डा. कार्की भन्छन्–‘र्यापिड र पीसीआर दुवै परीक्षणबाट पोजेटिभ नमुना आएकाले आमा छोराको संक्रमण दुईसाता आसपासको हुनसक्छ ।’ थप परीक्षणबाट मात्र उनीहरु बेलायतमै संक्रमित भए कि नेपालमा भन्ने पत्ता लाग्ने उनले बताए ।
तर, जे निष्कर्ष आएपनि सुखद भने पक्कै हुने छैन । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. कार्की भन्छन्–‘यो आयातीत केस रहेछ भने पनि कोरोना भाइरस १५–२० दिनमा जान्छ भन्ने विश्वव्यापी मान्यता लागू नहुने भयो ।’
अर्थात सुरुमा भनिएको १४ वा अहिले थप सात दिन गरेर बनाइएको २१ दिने निगरानी अपर्याप्त हुने भयो । र, संक्रमित मुलुकहरुबाट चैतको पहिलो साता नेपाल आएकामा पनि अहिले कोरोना संक्रमण देखिने जोखिम रहिरहने भयो ।
उनीहरुमा देखिएको संक्रमण आयातित होइन भने झन जोखिम हुनेछ । किनकि यो भनेको उनीहरुलाई नेपालमा अरुबाट कोरोना सरेको हो भन्ने हुन्छ अर्थात नेपालमा कोरोना संक्रमण समुदाय स्तरमा पुगिसकेको बुझ्न सकिन्छ ।
डा. कार्की भन्छन्–‘अहिले नै आयातित र स्थानीय संक्रमण भन्न नसकेपनि यो केसले समुदायको अरु मानिसमा संक्रमणको खतरा बढाएको भन्न सकिन्छ । र, छिटोभन्दा छिटो कन्ट्याक ट्रेसिङ र सतर्क हुनुको विकल्प भने छैन ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्