सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कोरोनाले गर्दा नेपालसहित ३६ देशमा दादुराको खतरा

कोरोनाभाइरसको विश्वव्यापी महामारीबीच कतिपय खोप लगाउने कार्यक्रममा ढिलाइ भइरहेकोले दादुराको प्रकोप फैलिन सक्ने जोखिम देखिएको छ । यूनिसेफका अनुसार विश्वका ३७ देशका ११ करोड ७० लाख बालबालिकाले समयमा दादुराविरुद्ध खोप नपाउन सक्छन् ।

एमएमआर खोप प्रयोग गर्ने दर कम रहेका युरोपका थुप्रै देशमा ठूलो स्तरमा प्रकोप फैलिएको छ । सम्भावित घातक सङ्क्रमणको घटनामा वृद्धि देखिएपछि यूकेले दादुरामुक्त देशको हैसियत गुमाइसकेको छ ।

रुघाखोकी, ज्वरो र दाग गराउने यो रोगबाट एमएमआर खोप दुई पटक दिएर जोगिन सकिन्छ । यहाँ विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाँच वर्ष उमेरका ९५ प्रतिशतले पहिलो खेपको खोप लगाएका छन् भने ८७.४ प्रतिशत दोस्रो खेप लिएका छन् ।

दादुरा उच्च सङ्क्रामक रोग भएकोले खोप प्रयोग गर्ने दरमा सामान्य कमी आउँदा पनि त्यसको प्रभाव पर्न सक्छ । दादुराको सक्रिय सङ्क्रमण नदेखिएका मुलुकहरूले आवश्यकताअनुसार खोप कार्यक्रमलाई तत्कालका लागि रोक्न सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

ठूलो स्तरमा दादुरा सङ्क्रमणको सामना गरिरहेका देशसहित २४ वटा मुलुकले कोरोनाभाइरस महामारीको कारण देखाउँदै खोप कार्यक्रम रोक्ने निर्णय गरिसकेका छन् ।

त्यस्ता देशमा बाङ्ग्लादेश, ब्रजिल, बोलिभिया, कम्बोडिया, चाड, चिले, कोलम्बिया, जिबुटी, द डोमिनिकन रिपब्लिक, डीआर कङ्गो, इथियोपिया, होन्डुरस, कजाकस्तान, किर्गिजस्तान, लेबनन, माल्दिभ्स, मेक्सिको, नेपाल, नाइजिरिया, पाराग्वे, सोमालिया, दक्षिणी सुडान, युक्रेन र उज्बेकिस्तान छन् ।

तर यूनिसेफका अनुसार अरू देशले अवरोधको सामना गर्नुपर्ने हुन सक्छ । “यदि कोरोनाभाइरस सङ्क्रमण फैलिने कुरालाई लिएर खोप कार्यक्रम रोक्ने कठिन निर्णय लिइएको हो भने हामी नेताहरूलाई खोप नलगाइएका बालबालिकाहरूको पहिचान गर्ने कार्यमा तीव्रता दिन हामी आग्रह गर्छौँ ।”

युनिसेफले भनेको छ–“त्यसो गर्दा स्थिति सामान्य हुनासाथ उनीहरूलाई खोप दिन सकियोस् ।” प्रवक्ता जोआना रिआले थपिन्–“नियमित खोप कार्यक्रममा उत्पन्न बाधाले बालबालिकामा घातक रोगहरू लाग्ने जोखिम बढाउनेछ, राष्ट्रिय स्वास्थ्य सेवामाथि देखिएका दबावलाई बढाउनेछ र दोस्रो चरणको विश्वव्यापी महामारीको जोखिम निम्त्याउन सक्छ ।”

यूकेले बालबालिकाहरूलाई नियमित खोप कार्यक्रम अन्तर्गत एमएमआर खोप लगाउन भनिरहेको छ । पब्लिक हेल्थ इङ्ग्ल्यान्डस्थित खोप कार्यक्रमका प्रमुख डा. मेरी र्याम्से भन्छिन्–“गम्भीर र कतिपय सन्दर्भमा प्राणघातक रोगहरूको नियन्त्रणमा राष्ट्रिय खोप कार्यक्रम निकै सफल देखिएको छ । यी सङ्क्रमणहरूलाई फैलिनबाट रोक्नका निम्ति यस समयमा खोपहरूको प्रयोगलाई निरन्तरता दिनुपर्ने हुन्छ ।”

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS