सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लकडाउनको बेला जनकपुरमा किनमेलको भिडभाड

बिहीबार बिहानै जनककपुरमा देखिएका दृश्यहरुले जोकोहीलाई चिन्तित बनाएको छ । मुलुक पूरै लकडाउनमा रहेको बेला प्रदेश–२ को केन्द्र जनकपुर सदरमुकाम जनकपुर बजारमा भने लकडाउनको धज्जी उडाउँदै सर्वसाधारणहरु बिहानैदेखि सड़कमा देखिएका छन् ।

स्थानीय प्रशाशन र प्रहरीको अगाडि नै हाट–बजार सञ्चालन गरिएको छ भने सड़कमा मानिसहरूको बाक्लै चहलपहन देखिएको छ । यो भीड़ले जोकोहीलाई कोरोना संक्रमण फैलिनसक्ने डरले चिन्तित बनाएको छ ।

Janakpur

प्रदेश–२ मा कोरोना संक्रमणको उच्च जोखिम रहेको सरकारी तथ्यांकले देखाएको छ । यसै बखत जनकपुरधामको सड़कमा देखिएको यो दृश्यले भने थुप्रै प्रश्नहरु उठाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले मंगलबार गरेको निर्णयपछि ‘लकडाउन’ उल्लंघन बढेको हो । मंगलबारसम्म पूर्ण रुपले ‘लकडाउन’ पालना भइरहेको जनकपुरमा समितिको निर्णयपछि बुधबारदेखि मानिसहरूको चहलपहल बढेको थियो ।

मंगलबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले खाद्यान्न, इन्धन, औषधि, दुध, खानेपानी, तरकारीलगायतका अत्यावश्क उपभोग्य वस्तु बिहान ५ बजेदेखि अपराह्न ४ बजेसम्म खरिदबिक्री गर्न सकिने निर्णय गरेको थियो ।

यस्ता सामग्री खरिद–बिक्री गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने निर्णयमा उल्लेख छ तर सर्वसाधारणले त्यो नबुझेका हुन् वा पालना नगरेका ? विपद् व्यवस्थापन समितिले अत्यावश्यक उपभोग्य वस्तुहरु मात्र खरिद–बिक्री गर्न सकिने निर्णय गरेको छ । तर यसबाहेकका अन्य पसल पनि खुलेका छन् । समितिको यस्तो निर्णय आएसँगै पसलमा भीडभाड बढेको छ भने सवारीसाधन पनि गुड्न थालेका छन् ।

समितिको निर्णयको यहाँका कतिपय स्थानीयले विरोधसमेत गरेका छन् । कोरोना संक्रमणको खतरा बढिरहेको बेला ‘लकडाउन’ लाई थप कडाइ गर्नुपर्नेमा यस्तो निर्णय गरेर जोखिम बढाउने काम भएको युवा अभियन्ता सुशील कर्णले बताएका छन् ।

विपद् व्यवस्थापन समितिको निर्णयपछि कामै नभए पनि सामान खरिद गर्ने वहानामा मानिसहरु सडकमा हिंड्न थालेको कर्णले बताए । कोरोना संक्रमण रोकथाम गर्ने काम प्राथमिकतामा हुनुपर्नेमा विपद् व्यवस्थापन समितिको निर्णयले ‘लकडाउन’ को धज्जी उडाएको उनको भनाइ छ ।

विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले वहाना बनाएर सडकमा हिँड्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । खाद्यान्न लगायतका अत्यावश्यक वस्तुबाहेक अन्य पसल सञ्चालन गर्ने निर्णय नभएको उनले स्पष्ट पारे ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्