सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा एकैदिन भेटिए १४ कोरोना संक्रमित

नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन् । उदपयुरमा १२ जना भारतीय र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका चितवनका दुई जना आमाछोरा भएको खुलेको छ । उनीहरु राप्ती नगरपालिका–८ का हुन् ।

६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए । भरतपुर अस्पतालको आइसोलेसन बार्डमा रहेका उनीहरुको अवस्था सामान्य छ । उनीहरुमा कुनै लक्षण पनि छैन ।

उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा लुकेर बसेका १२ जना भारतीय र ४ जना नेपालीहरुको कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा १२ भारतीयमा कोरोना संक्रमण पोजिटिभ रहेको देखिएको छ ।

उनीहरुको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएपछि थप यकिन गर्न नमुनालाई काठमाडौं पठाइएको छ ।

प्रदेश १ का एक मन्त्रीले भुल्केको मस्जिदमा भेटिएका १२ जना भारतीयकै पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको र उनीहरुलाई राति नै उदयपुरबाट प्रदेश १ स्थित कोरोना विशेष अस्पतालमा ल्याउन लागिएको जानकारी दिए। संक्रमितहरुलाई कोरोना विशेष अस्पतालमा ल्याउन प्रदेश सरकारले तयारी गरिसकेको छ।

उक्त अस्पतालमा चिकित्सक टोली तथा सम्पूर्ण उपकरण तयारी अवस्थामा राखिएको र कोरोना पोजिटिभ देखिएकाहरुलाई ल्याउने सम्पूर्ण तयारी भइसकेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ।

यसअघि वीरगन्जको मस्जिदमा बसेका तीनजना धर्मगुरुमा कोरोना संक्रमण देखिएपछि उक्त मस्जिदमा पनि अनुगमन गर्ने क्रममा १२ भारतीयको परिचयपत्र रहेको र अन्य ४ जना नेपाली रहेको पाइएको थियो। उनीहरूले मस्जिदमा सामाजिक दूरी कायम गरेको बताए पनि स्थानीयले घुलमिल गरिरहेको दाबी गरेका थिए।

स्थानीयले नै मस्जिदमा विदेशी आएर गुपचुप बसेको भन्दै त्रियुगा नगरपालिका, जिल्ला प्रशासन, प्रहरीलाई सूचना दिएका थिए।

फेसबुकबाट कमेन्ट गर्नुहोस्