सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

भारतबाट लुकिछिपी नेपाल छिर्ने क्रम बढ्यो

कोरोना भाइरसको संक्रमण रोक्न देशभित्रै नागरिकलाई घरबाट निस्कन प्रतिबन्ध लगाइरहेका बेला नेपालको पुर्वी क्षेत्रमा भारतबाट मानिसहरु लुकिछिपी प्रवेश गर्न नछाडेपछी कोरोना संक्रमणको जोखिम बढेको छ ।

कतिपयले भने स्थानीय तहलाई खबर गरेर उनीहरुकै सहयोगमा नेपाल आएका छन् भने कतिपय थाहा नै नदिई लुकिछिपी आएका छन् । सुनसरीको कोशी गाउँपालिकामा भारतबाट आएका ६ जनालाई नियन्त्रणमा लिई मदरसामा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

त्यसैगरी पश्चिम कुशाहास्थित सप्तकोशी नदीबाट डुंगामार्फत नेपाल आउने क्रममा ११ जनामध्ये ७ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको छ । सीमा क्षेत्रमा कडाइ गर्दागर्दै पनि चोरबाटो प्रयोग गरेर नेपाल प्रवेश गर्ने क्रम रोक्न नसकिएको सीमा क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिहरु बताउँछन् ।

स्थानीय तहमा रहेका सुरक्षाकर्मीले मात्रै सिमानाको रेखदेख गर्न नसकेपछि कतिपय ठाउँमा स्वयंसेवकका रुपमा युवाहरु परिचालन गरिएको छ । मोरङको धनपालथान गाउँपालिकाले सिमानाबाट घुसपैठ हुनेलाई रोक्नका लागि ३० जना स्वयंसेवक युवा परिचालन गरेको छ । स्वयंसेवक युवाले लाठी लिएर सीमा क्षेत्रमा गस्ती गर्ने गरेका छन् ।

Nepal India border

मुख्य नाकामा सुरक्षा चेक जाँचमा कडाइ गरिए पनि मकैबारी तथा खेतबाट समेत भारतमा रहेका नेपालीहरु प्रवेश गरेका छन् । यसरी लुकेर नेपाल आउनेमा नेपाली मात्रै नभएर भारतीय समेत भएको खुल्न आएको छ । सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी भारतको बिहार राज्य पुरै लकडाउन भए पनि त्यहाँबाट लुकिछिपी नेपाल आउनेलाई रोक्न गाह्रो भएको बताउँछन् ।

भारतबाट आउनेको तथ्यांक राख्ने र उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रयास गरिरहेको भएपनि भारतबाट आएकाहरु लुक्ने गरेकाले फेला पार्न कठिन भएको धनपालथान गाँउपालिकाकी उपाध्यक्ष नसिमा बानुले बताएकी छिन् ।

सुनसरीको कोसी गाँउपालिकाको २० किलोमिटर क्षेत्र भारतसँग सिमाना जोडिएको छ । त्यहाँबाट भारत प्रवेश गर्ने ६ वटा नाका छ । ती नाकामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

लकडाउनका बेला पनि भारतबाट नेपालीहरु फर्किरहेका गाउँपालिका अध्यक्ष ऐउव अन्सारी बताँउछन् । नेपाल प्रवेश गरेकालाई राख्न दुई वटा मदरसामा क्वारेन्टाइन बनाइएको छ । विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरिएको गाउँपालिकाको भनाइ छ । तर भारतबाट आएकाहरु लुक्ने गरेका छन् ।

सुनसरीकै हरिनगर गाउँपालिकाको हरिनगरमा घुर्ना घुस्की र बासमतिया भुटाह मुख्य नाका भए पनि ८ किलोमिटर खुल्ला सीमा भएकाले लुकीछिपी आउने क्रम जारी छ । विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरिरहेको तर परिवारले सूचना लुकाउने हुनाले यकीन तथ्यांक नभएको गाउँपालिकाले जनाएको छ ।

दशगजा क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालन गरिएको अध्यक्ष गफार अन्सारीले बताए । सुनसरीको देवानजञ्ज गाउँपालिकामा ५ किलोमिटर खुल्ला सीमा २ वटा मुख्य नाका छन् । साहेवगञ्ज र कप्तानगञ्ज नाकामा सुरक्षा निगरानी कडा छ । तर खेतबाट समेत मानिसहरु नेपाल आएको सूचना आइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले बताए । पालिकामा अहिलेसम्म विदेशबाट फर्किएका १२ जना घरमै निगरानीमा छन् ।

सुनसरीको बर्जु गाँउपालिकामा ६ किलोमिटर खुल्ला सिमाना र ५ वटा भारत जाने आउने मुख्य नाका छ । पुरानोकट्टी टोल, वमरीचोक, हरवुरी, इटहरी र फारम नाकामा सुरक्षाकर्मी छन् । तर खुल्ला सिमाना रहेको स्थानबाट नेपाल प्रवेश भइरहेकाले जोखिम रहेको अध्यक्ष रघुनाथ चौधरीले बताएका छन् । विदेशबाट आएका ४० जना हाल होम क्वारेन्टाइनमा छन् ।

मोरङको रतुवामाई नगरपालिकाका ४ वटा मुख्य नाका सोनापुर, थालगाक्षी, घारु चोक र चिनिमारीमा सुरक्षा पोष्ट खडा गरिएको छ । तर बक्राह खोला र रतुवा खोलाको बगरैबगर भारतमा कामका लागि गएकाहरु फर्कने गरेका छन् ।

मोरङकै सुनबर्षी नगरपालिकाले खुल्ला सिमाना क्षेत्रमा बोर्डर सिल गरेको जनाएको छ । नगरपालिकाका मेयर कालीप्रसाद दासले मुख्य दुई नाका सुनबर्षीमा सिक्टी र बरडङ्गा नाकामा कडाइ गरिएको बताए । यति गर्दा पनि भारतबाट आउनेहरु नरोकिएको दासले बताए । उनका अनुसार तीन दिनअघि मात्रै भारतबाट केहि मानिसहरु आएको खबर छ र उनीहरुको खोजी भइरहेको छ ।

मोरङकै धनपालथान गाउँपालिकामा ३ वटा नाका भारतसँग जोडिएका छन् । ती नाका बन्द भए पनि केही दिनअघि भारतबाट लकडाउनकै बेला २५ जना नेपाल आएका छन् । उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ । उपाध्यक्ष नसिमा बानुले खुल्ला सिमानाका कारण भारतबाट नेपाल आउने नरोकिएकाले युवाहरुलाई समेत परिचालन गरिएको बताइन् ।

मोरङको जहदा गाँउपालिकाको भारतसँग जोडिएको नाका पोखरीया, डुमरीया, लंकाटोल, भुटाहा र परिजामा कडाइ गरिएको छ । भारतबाट आएकाहरुलाई निगारानी गर्ने काम भइरहेको अध्यक्ष कैलाशप्रसाद मण्डलले बताए ।

मोरंगको रंगेली नगरपालिकाले बैआन, धनापट्टी, चोपरा मुख्या नाका क्षेत्रमा कडाई गरेको छ । भारतबाट लुकीछिपी नेपाल छिर्ने क्रम नरोकिएकाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत रंगेलीमा ‘प्रहरी म’ कार्यक्रम सञ्चालन भएको छ ।

प्रहरी म कार्यक्रममा युवाहरुले सिमानाबाट नेपाल छिरेकाहरुको सूचना नगरपालिकामा पुर्याउने छन् । नगरपालिकाले ३ सय जना स्वास्थ्यकर्मी कोरोना रोकथाम नियन्त्रण र उपचारका लागि तयार गरिएको मेयर दिलिप बगेडियाले बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS