सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उदयपुरमा भेटिए एकैदिन ९ जना कोरोना संक्रमित

उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो ।

सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो । संक्रमित आठै जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन् ।

योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४० पुगेको छ । जसमा ४ जना निको भएर घर फर्किएका छन् । गत शुक्रबार भुल्केमा रहेको उक्त मस्जिदमा रहेका १६ मध्ये एकैपटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

Corona Infected

पछि बाँकी चार जनामध्ये थप एकजना पनि संक्रमण देखियो । गत शनिबार १३ जना संक्रमितसँग सम्पर्कमा आएका ६९ जनाको स्वाब परीक्षण गर्न विराटनगर पठाइएकोमा ८ जनामा कोरोना देखिएको हो ।

यी आठै जना मुस्लिम समुदायका हुन् । सो बस्तीबाट पछि २ सय ५२ जनाको स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको हो । आज देखिएको एकजना तीनै मध्येको हो । यसअघि कोरोना पुष्टि भएका १३ संक्रमित पनि मुस्लिम समुदायकै हुन् ।

उनीहरू विराटनगरको कोरोना अस्पतालमा उपचाररत छन् । संक्रमितको संख्या बढेसँगै भुल्के पूरै बस्ती अहिले पनि सिल गरिएको छ । बस्तीमा सुरक्षाकर्मी खटिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्