बेलायतमा कोरोनाले फेरी एक नेपालीको मृत्यु
कोरोनाभाइरस (कोभीड१९) को संक्रमणबाट बेलायतमा अर्का एक नेपालीको मृत्यु भएको छ । बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको स्थानीय ‘रोयलबर्कशायर अस्पताल’मा उपचारकै क्रममा गत आइतबार साँझ मृत्यु भएको हो ।
कास्की, याङ्जाकोट पुर्ख्यौली भएका मृतक गुरुङ हङकङ हुँदै बेलायत गएको खुल्न आएको छ । बेलायतमा आफ्नो परिवारका साथ बस्दै आएका मृतक गुरुङका श्रीमती र एक छोरा छन् ।
पारिवारिक स्रोतका अनुसार ढाडको समस्याबाट पीडित रहेका गुरुङको गत डिसेम्बरमा काठमान्डौस्थित ‘ग्राण्डी अस्पताल’ मा अप्रेसन गरिएको थियो । त्यसपछि केहिसमय आराम गरेर फेब्रुअरीको पहिलो साता उनी बेलायत एका थिए ।

ढाडको समस्या ठिक नभएकाले नियमित औषधिको सेवन गर्दै आएका गुरुङलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अप्रिल १३ मा अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गरिएका गुरुङको दुई दिनपछि मृत्यु भएको थियो ।
दुई दिनपछि अस्पतालले परिवारलाई उपलब्ध गराएको ‘रिपोर्ट’मा उनलाई निमोनिया र कोरोनाभाइरसको संक्रमण भएको उल्लेख गरिएको रेडिङ तमु समाजका अध्यक्षले जानकारी दिएका छन् ।
मृतक गुरुङ रेडिंग तमु समाजका आजीवन सदस्य समेत रहेका थिए । बेलायतमा कोरोनाबाट मृत्यु हुने गैर आवासीय नेपालीहरुको संख्या १९ जना पुगिसकेको छ । मृत्यु हुनेहरुमा करिब एक दर्जन जति पूर्व गोर्खा सैनिकहरु रहेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्