सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भुल्केमा विदेशबाट आएका युवामा पनि कोरोना

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा मंगलबार भेटिएका कोरोना भाइरस (कोभिड–१९) का संक्रमितमध्ये तीन जना विदेशबाट आएको पाइएको छ । भुल्केमा पहिलो पटक वैशाख ५ मा एकैपटक ११ भारतीय र एक नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो ।

उनीहरु सबै पछिल्लो समय भुल्केस्थित नुरी मस्जिदमा बस्दै आएका थिए । उनीहरुको दाबी छ कि चार महिना यता नेपालबाहिर गएका छैनन् । धेरैले भने जमातीहरु लकडाउनको समयमा भारतबाट छिरेका त होइनन् भन्ने प्रश्न गरेका छन् । तर सरकारी अधिकारीहरुले न त त्यसलाई पुष्टि गर्न सकेका छन् न त उनीहरुमा भेटिएको कोरोनाको स्रोत पत्ता लगाउन सकेको छ ।

तर त्यही मस्जिदमा आउ–जाउ गर्नेहरुको परीक्षण गर्ने क्रममा थप संक्रमित भेटिएका छन् । भुल्केमा मात्र संक्रमितको संख्या २४ पुगेको छ र केहीको परीक्षण रिपोर्ट आउन बाँकी छ ।

मंगलबार भेटिएका संक्रमितमध्ये तीन जना विदेशबाट फर्किएका युवक हुन् । एक जना दुबईबाट फागुन ११ मा आएको खुलेको छ दुई जना भारतको उत्तर प्रदेश र दिल्लीबाट आएको बताइएको छ ।

Coronavirus Test

तर भुल्केमा देखिएको कोरोनाको स्रोत जमाती हुन् कि विदेशबाट फर्किएका युवक हुन् भन्ने प्रश्न उठेको छ । तर कन्ट्याक्ट ट्रेसिङ लगायतका काम नगरी भन्न नसकिने अधिकारीहरु बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले भने, ‘एकजना दिल्ली, एकजना युपी (उत्तरप्रदेश) र एकजना दुबईबाट आएको पाइएको छ । हामी अनुसन्धान गरिरहेका छौं ।’

विदेशबाट फर्किएपछि उनीहरु मस्जिदमा रहेका जमातीहरु कहाँ आउजाउ गर्ने गरेको पाइएको छ । कोरोना संक्रमण देखिएका ११ मध्ये १० जनालाई मंगलबार नै कोरोना विशेष अस्पताल भर्ना गरिएको छ ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डा. संगीता मिश्राका अनुसार मंगलबार भर्ना भएकाहरुको अवस्था सामान्य छ । शनिबार बिहान भर्ना भएका १३ जनाको अवस्था पनि सामान्य रहेको उनले बताइन् ।

अस्पताल मातहत रहने गरी प्रदेश सरकारले निर्माण गरेको कोरोना विशेष अस्पतालमा ५० जना अटाउनसक्ने क्षमता छ । अस्पतालमा उदयपुरका २४ जनालाई भर्ना गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्