सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

किम जोङ जिवितै भएको अमेरिकी गुप्तचरको रिपोर्ट

अमेरिका र दक्षिण कोरियाली गुप्तचर संस्थाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन जीवित नै रहेको बताएका छन् । वासिङ्टन पोस्टका अनुसार अमेरिकी गुप्तचर संस्थाले किम जोङ उनको मृत्युको समाचारमा विश्वास नलागेको बताएको छ ।

वासिङटन पोष्टले तीन सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी र दक्षिण कोरियाली गुप्तचर संस्थाका अनुसार किम अझै जीवित रहेको उल्लेख गरेको हो । अमेरिकास्थित उत्तर कोरियाको निगरानी योजना ३८–नर्थले गत साता उत्तर कोरियाको वोन्सानमा किमको रेल रोकिएको स्याटेलाइटको फोटो सार्वजनिक गरेको छ ।

Kim Jong Un

गत साता किम जोङ उन सोही क्षेत्रमा रहेको दक्षिण कोरियाको गुप्तचर अधिकारीले पनि बताएको समाचारमा उल्लेख छ । गत अप्रिल १५ मा किम जोङ उन आफ्ना हजुरबाको जन्म जयन्तीमा सहभागी हुन नसकेसँगै उनको स्वास्थ्य अवस्थाको विषयमा अड्कलबाजी शुरु भएको थियो ।

शनिबार पनि उनी सेनाको स्थापना दिवसको अवसरमा पनि देखिएनन् । त्यससँगै उनको स्वास्थ्य अवस्थाबारे चासो बढेको हो । कुनै असामान्य सैन्य गतिविधि नदेखिएकाले उनको स्वास्थ्य अवस्थामा धेरैले चासो राखेका छन् ।

उत्तर कोरियाली सञ्चारमाध्यमले अन्तिमपटक अप्रिल ११ मा भएको एक बैठकमा सामेल भएको उल्लेख गरेका थिए । त्यसयता उनको बारेमा उत्तर कोरियाबाट कुनै समाचार आएको छैन ।

३८ नर्थ का अनुसार अप्रिल २१ र २३ मा वोन्सानमा किमको रेल देखिएको थियो । यद्यपि रेलको उपस्थितिले उनी त्यो रेलमा रहेको वा नरहेको तथा उनको स्वास्थ्य अवस्थाबारे थाहा नहुने बताइएको थियो ।

शुक्रबार अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले चिनियाँ डाक्टरको एक टोली उत्तर कोरिया प्रस्थान गरेको समाचार प्रकाशित गरेको थियो । त्यस्तै शनिबार हङकङको एक टेलिभिजनले ‘बलियो स्रोत’ले दिएको जानकारी भन्दै किम जोङ उनको हल्ला भएको बताएको थियो । त्यस्तै जापानी एक म्यागाजिनले पनि उनी कोमामा रहेको बताएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्