आइतबार मात्रै नेपालमा १६ जनामा कोरोना पुष्टि
बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस सँगै संक्रमितको संख्या ७५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यसअघि संक्रमित पुष्टि भएका ९ जना मध्ये ५ पुरुष र ४ महिला छन् । उनीहरु ७ देखि ५८ वर्ष उमेरका छन् ।
उनीहरु सबैलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिनेछ । आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएका थिए । नेपालगञ्ज र वीरगञ्ज गरी आइतबार एकै दिन नेपालमा १६ जना कोरोना संक्रमित भेटिएका हुन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्