सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कीर्तिपुरमा चितुवा घुम्न थालेपछी स्थानीय त्रासमा

कीर्तिपुरमा घरछेउमै चितुवा देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित बन्न थालेका छन् । त्रिभुवन विश्वविद्यालय परिसर, चोभार, बाहिरी सडक, पाँगा, ट्याङलाफाँट क्षेत्रका झाडीमा चितुवा देखिएका हुन् ।

विश्वविद्यालय परिसरमा चितुवा देखेपछि स्थानीयले काठमाडौं वन सब डिभिजन कार्यालय थानकोटलाई खबर गरेका थिए । सहायक वन अधिकृत हरिप्रसाद खरेलले स्थानीयलाई आवतजावतमा सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

शुक्रबारबाट त्यस क्षेत्रमा ४ वटा चितुवा आएको जानकारी पाएपछि वन कर्मचारी सोमबार कीर्तिपुर पुगेका थिए । सहायक वन अधिकृत खरेलले जंगलमा मानव अतिक्रमण बढेपछि आहार र वासस्थान खोज्दै चितुवा बस्ती पसेको बताए ।

सोमबार वन, नगरपालिका, सुरक्षाकर्मी र स्थानीयसहितको छलफल भएको थियो । छलफलमा बस्ती वरपर झाडी फँडानी गरेर खुला बनाउन सुझाव दिइएको र यसका लागि नगरपालिकाले पहल थाल्ने निर्णय भएको खरेलले जानकारी दिए ।

lyopard chituwa
फाईल फोटो

चितुवा भेटिन थालेसँगै स्थानीय बासिन्दा बिहान–बेलुका हिँडडुल गर्न छाडेका छन् । स्थानीय वीरेन्द्र शाक्यका अनुसार अत्यावश्यक काममा निस्कन समस्या भएको छ । केही दिनयता सडकमा कुकुरसमेत देखिन छाडेका छन् । चितुवाले आहाराका लागि कुकुर मारेको हुन सक्ने वन अधिकृत खरेलले बताए ।

यसअघि टीकाथली, थानकोट, टोखा, बानेश्वर लगायतका बस्तीमा पनि चितुवा देखिएको थियो । महानगरीय प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेलले चितुवा सडकमा देखिने बित्तिकै सुरक्षाकर्मीलाई खबर गर्न आग्रह गरिएको बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्