लकडाउन जेठ ५ गतेसम्म गर्ने मन्त्रिपरिषद निर्णय
सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन बैशाख २५ गतेसम्मलाई थियो ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ । लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आवाज पनि उठिरहेको छ ।
मंगलबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।
तर प्रधानमन्त्री केपी शर्मा ओली त्यसमा सहमत नदेखिएको समितिका एक सदस्यले जानकारी दिएका छन् । प्रधानमन्त्रीले अहिले नै क्षेत्र छुट्याएर जान सकिन्छ र भन्ने प्रश्न गरेको ति सदस्यले बताएका छन् ।
प्रधानमन्त्रीको भनाईबारे एक मन्त्रीले भनेका छन्–‘त्यसमा उहाँको दुईवटा तर्क थियो । एउटा भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको छ । त्यसको असर नेपालमा पनि पर्छ नै । अर्को, हाम्रो टेस्ट पनि पुगेको छैन ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्