नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुग्यो
बिहिबार राति बाँके र कपिलवस्तुका गरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमा बाँकेको नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का ४२ वर्षीया महिला र कपिलवस्तुको सुद्धोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यो संगै कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।
त्यसैगरी बिहीबार साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।
रुपन्देहीको लुम्बिनीका १ पुरुष र झापाका ८ जना पु्रुषमा कोरानो संक्रमण पुष्टि भएको देवकोटाले बताएका छन् । यसअघि बिहीबार बिहान पनि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो । मन्त्रालयले बिहान दिएको जानकारी अनुसार संक्रमितहरु झापा, धनकुटा र सुनसरी जिल्लाका रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । बिहानको १५ र र साँझ ८ जना गरी झापामा एकैदिन २३ जनामा संक्रमण देखिएको छ ।
बिहान पुष्टि भएका संक्रमितहरु कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ का १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्ष उमेरका पुरुषहरु रहेका छन् ।
यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् । उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी बाराको पचरौता नगरपालिका वडा नम्बर १ का एक जना युवकमा कोरोना भाइरस संक्रमण देखिएको छ । भारतको दिल्लीबाट केहीदिन अघि आएर क्वारेन्टाइनमा बसेका ३० वर्षीय युवकमा बिहीबार कोरोना भाइरस फेला परेको हो ।
भारतको दिल्लीबाट नेपाल आउने क्रममा सिमावर्ती आदापुरमा भारतीय प्रहरीले रोकेर सोही ठाँउमा रहेको क्वारेन्टाइनमा राखेको थियो । सोही क्रममा भारतीय प्रहरीले सो युवकको स्याब संकलन गरेको थियो ।
युवकमा पीसीआर रिपार्ट पोजेटिभ देखिएको भारतीय सुरक्षाकर्मीले आजै जानकारी दिएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिएका छन् । पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाती गाँउ निवासी बर्ष ३० का ती युवकलाई पछिल्लो केहिदिन देखि पचरौता कोरेन्टीनमा राखिएको थियो ।
बिहीबार बिहान भारतीय प्रहरीले ती युवकलाई कोरोना पुष्टि भएको र छुट्टै राख्नु भनि जानकारी दिएपछि उनलाई कलैया अस्पतालमा आइसोलेसन वार्डमा ल्याउन एम्बुलेन्स पठाइसकेको प्रवक्ता मिश्राले जानकारी दिएका छन् । भारतमा चेकगर्दा पोजिटिभ आएपनि अधिकारिक रुपमा फेरि पीसीआर चेक गर्नुपर्ने प्रहरी प्रवक्ता तथा डिएसपी गौतम मिश्राले बताएका छन् ।
यसैबीच हालसम्म कोरोना निको हुनेको संख्या ४९ पुगेको छ । आज टेकु अस्पतालमा उपचार गराइरहेका ४ जना निको भएसँगै कोरोना निको हुनेको संख्या ४९ पुगेको हो । यस्तै कोरोनाबाट सिन्धुपाल्चोक, बाँके र गुल्मीका १–१ जनाको मृत्यु भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्