सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोनाको उपचारमा खटिनेबाहेकको भत्ता कटौती

सरकारले कोरोना रोगविरुद्ध अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक सबै कर्मचारीले विभिन्न शीर्षकमा पाउँदै आएको अतिरिक्त भत्ता कटौती गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७–०७८ को बजेट सार्वजनिक गर्दै कर्मचारीले खाना, खाजा, प्रोत्साहन लगायत विभिन्न शीर्षकमा पाउँदै आएको सबै प्रकारको भत्ता कटौतीको घोषणा गरेका हुन् ।

प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने उद्देश्यले यस्तो घोषणा गर्नुपरेको उनको भनाइ छ ।आगामी आर्थिक वर्षमा कार्यालय सन्चालन, इन्धन, मर्मत, भ्रमण, कम प्राथमिकताका गोष्ठी सहायता, भौपरी खर्च, फर्निचर, सवारी साधन, मर्मत खर्च लगायतको बजेट समेत उल्लेख्य कटौती भएको अर्थमन्त्रीले जानकारी दिएका छन् ।

Yubaraj Khatiwada

समिति, कोष, प्रतिष्ठान लगायतमा मितव्ययिता सम्बन्धी निर्देशिका बनाएर कार्यान्वयन गरिने भएको छ । सार्वजनिक खर्च पुनरावलोकन आयोगका अनुसार आवश्यक नदेखिएका सार्वजनिक निकाय अब खारेज गरिने छ । आवश्यक नभएसम्म नयाँ कर्मचारी नियुक्ति रोक्का पनि भएको छ । अनुदानमा समेत दोहोरोपन हुन नदिने अर्थमन्त्री खतिवडाले बताएका छन् ।

त्यसैगरी सरकारले केही पेट्रोलियम पदार्थको भन्सार शुल्क बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् हवाई इन्धन र एलपी ग्यासबाहेक पेट्रोलियम पदार्थको भन्सार शुल्कमा सामान्य वृद्धि गरिएको घोषणा गरेका छन् ।

त्यस्तै, सुन र सुनका गरहनामा पनि भन्सार शुल्क वृद्धि गरेको उनले घोषणा गरेका छन् । चुरोट, गुट्खा, पान मसला लगायतमा लाग्दै आएको स्वास्थ्य जोखिम करमा सामान्य वृद्धि गरिएको उनले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्