सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ट्विटर बन्द गरिदिने अमेरिकी राष्ट्रपतिको धम्की

ट्विटरले आफ्ना ट्विटमा ‘तथ्य–जाँच’ राखेर गल्ती औंल्याइदिन थालेपछि आक्रोशित अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल नै बन्द गराइदिने चेतावनी दिएका छन् ।

ट्रम्पले अरूलाई आरोप लगाएर जथाभावी ट्विट गर्न थालेपछि ट्विटरले त्यसको तल चेतावनी चिह्न राखेर तथ्य प्रस्तुत गरी साँचो वा झुट साबित गर्न थालेपछि उनी आक्रोशित भएका हुन् ।

हुलाकमार्फत हुने मतदानमा पूरै धाँधलीपूर्ण हुने भन्दै ट्रम्पले मंगलबार ट्विट गरेका थिए । तर ट्विटरले त्यसको तल हुलाकमार्फत हुने मतदान पारदर्शी हुने तथ्य राखेर उनको कुरा पहिलोपटक झुट साबित गरिदिएको थियो ।

त्यस दिनदेखि ट्विटरप्रति ट्रम्प आक्रोशित छन् । त्यही दिनदेखि उनले लगातार ट्विट गरेर यो वाक् स्वतन्त्रताको हनन भनिरहेका छन् । त्यसपछि बुधबार बिहान अझ उत्तेजित हुँदै दुईवटा ट्विट गरेका हुन् ।

जसमा उनले लेखेका छन्–‘रिपब्लिकनहरूलाई लागेको होला, सामाजिक सञ्जालले कन्जरभेटिभ आवाजलाई पूर्ण रूपमा बन्द गरेका छन् । तर हामी कडा नियमन गर्दै छौं वा त्यस्ता सामाजिक सञ्जाललाई बन्द नै गर्ने छौं ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्