सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रोल्पाका कम्युनिष्ट नेता बर्मन बुढाको निधन

रोल्पाका पहिलो कम्युनिस्ट सदस्य पूर्वसांसद बर्मन बुढाको बुधबार बिहान ९० वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार बिहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको उनकी छोरी विजया बुढाले जानकारी दिइन् ।

एक वर्षअघि उनलाई आन्द्राको क्यान्सर भएको पत्ता लागेपछि काठमाडौंमा बसेर उपचार गराइरहेका थिए । केही दिनअघि रोगले च्यापेपछि थप उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएकामा आज बिहान निधन भएको विजयाले जानकारी दिइन् ।

बुढा वि.सं. २०४८ को संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । रोल्पाको थवाङ घर भएका बुढालाई रोल्पाको कम्युनिस्ट पार्टीको संस्थापक मानिन्छ ।

लामो समय मन्त्री रहेका राप्रपा नेता बालाराम घर्तीमगरलाई हराउँदै २०४८ को संसदीय निर्वाचनमा पहिलोपटक बुढा सांसद निर्वाचित भएका थिए । यसअघि उनी थवाङको मुखिया, प्रधानपञ्चको रूपमा लामो समय राजनीतिमा क्रियाशील रहेका थिए ।

प्रतिनिधिसभा बैठकमा थवाङको स्थानीय भेषभूषामा कछाड लगाएर उपस्थित भएर चर्चामा रहेका बुढाको २०५२ को सशस्त्र युद्धपछि भने राजनीतिमा क्रियाशीलता कम हुँदै गएको थियो । कठिन परिस्थतिमा समेत रोल्पामा कम्युनिस्ट पार्टी निर्माण गरेको भन्दै रोल्पामा नेता बुढालाई आदर्श मान्ने गर्दछन् । उनी दुई वर्षअघि राष्ट्रका लागि योगदान गरेको भन्दै राष्ट्रपतिबाट विभूषितसमेत भएका थिए ।

बुढालाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, सभामुख अग्निप्रसाद सापकोटा, गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, नेकपा क्रान्तिकारी माओवादीका नेता मोहन वैद्य, पूर्वसभामुखहरु ओनसरी घर्तीमगर, कृष्णबहादुर महरालगायतका नेता कार्यकर्ता आर्यघाट पुगेका थिए ।

बुढाको बुधबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पुराना कम्युनिष्ट नेता एवम् पूर्वसांसद बर्मन बुढाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् ।

पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जली दिने क्रममा उपराष्ट्रपति पुनले राष्ट्रिय झण्डा ओढाएका हुन् । यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्