सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अर्कालाई बचाउन खोज्दा आफै मरेर गए २ युवा

कोरोनाको महामारी दुनियाँभर फैलँदै थियो । छिमेकी देश भारतमा पनि कोरोनाको संक्रमण सुरु भएपछी धन कमाउन कालापार (भारत) गएका रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका वडा नं. ५ बडागाउँका लोक बहादुर घर्ती मगर कोरोनाबाट बच्न आफ्नै गाउँ फर्केर आए । कोरोनाबाट बचेपनि लोक बहादुरको गाउँ नजिकैको तालमा डुबेर इहलिला समाप्त भयो ।

कोरोनाबाट बच्न भारतबाट घर फर्किएका लोक बहादुरको आफ्नै गाउँमा अर्काको ज्यान बचाउन खोज्दा बुधबार ज्यान गयो । बुधबार गाउँकै अन्य ४/५ जना साथीभाईसंगै लोक बहादुर गाउँ नजिकैको स्यार्पुतालको मुहान खारखोलामा बल्छि थापेर माछा मार्न गएका थिए ।

माछा मार्न बल्छि थापेको नजिकै संगै माछा मार्न गएका गाउँकै कमल विक तालमा डुब्न लागेको देखेपछी संगै गएका साथी अनिल घर्ती मगरले कमललाई बचाउन तालमा हाम फाले । कमलको उद्धार गर्न गएका अनिलले आफुलाई गाह्रो भएको भन्दै गुहार मागेपछी लोकबहादुरले पनि साथीलाई बचाउन तालमा हाम फाले । तर न लोकबहादुरले अनिललाई बचाउन पाए न आफु नै जिउँदो फर्किए ।

Condolence

डुब्दै गरेको कमल विकलाई बचाउन खोज्दा बर्ष २१ का अनिल घर्ती मगर र बर्ष २३ का लोकबहादुर घर्ती मगर स्यार्पुतालमै डुबेर बेपत्ता भए । कमल विकलाई भने स्थानियले सकुशल उद्धार गरे । बेपत्ता भएका लोकबहादुरको केहिबेरपछी लास भेटियो भने अनिलको अँझै पनि लास भेटिएको छैन ।

कमल विकको उद्धार गर्न खोज्दा ज्यान गुमाउने अनिल र लोकबहादुर दुबै पौडीमा पोख्त थिए । बर्षायाममा बढेको खोलाको भेलले तालको दलदलमा गाडेकाले उनिहरु पौडि खेल्न नसकेको हुनसक्ने स्थानियको अनुमान छ । प्रत्येक्षदर्शिका अनुसार मृतक लोकबहादुर घर्तिको शव किनारबाट करिब १० मिटरको दुरिमा भेटिएका थियो भने बेपत्ता अनिल करिब २० मिटरको दुरिबाट डुबेका भएका थिए ।

तालमा बेपत्ता भएका अनिल घर्ती मगर घरका एउटा मात्रै छोरा थिए । लोकबहादुरका भने दुई दाजुभाई थिए । उमेरले भर्खर लाउँलाउँ खाउँखाउँ भन्ने बेलाका तन्नेरीको असामयिक मृत्यु भएपछी यतिबेला रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं. ५ को बडागाउँ शोकमग्न बनेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्