रुकुमको चौरजहारीमा भाईले गरे आफ्नै दाईको हत्या
रुकुम पश्चिममा नवराज विक सहित ६ जनाको हत्या भएको नगरपालिकामै टाउको छुट्टिएको, गाडेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । चौरजहारी नगरपालिका वडा नम्वर ९ गुर्ताल निवासी ४५ वर्षीय हरिबहादुर मल्लको शव बिहीबार बिहान घर नजिकै मकै बारीमा गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमका प्रवक्ता, प्रहरी निरीक्षक कविराम रोकायाकाअनुसार मृतकका भाइ ३५ वर्षीय भुपेन्द्र मल्ललाई दाजुको हत्या अभियोगमा जाजरकोटबाट पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय चौरजहारीका प्रमुख प्रहरी निरीक्षक धर्मसिंह विष्टका अनुसार भुपेन्द्रले प्रहरी समक्ष हत्या आफैंले गरेको स्वीकारेका छन् ।
हरिबहादुर सुतेको समयमा उनका भाइ भुपेन्द्रले ग्रासी (माछामासु काट्न प्रयोग गरिने हतियार) घाँटी छिनाली हत्या गरेको प्रहरी समक्ष बयान दिएको बिष्टले बताएका छन् । अभियुक्त भूपेन्द्रलाई बुधबार राति जाजरकोट जिल्लास्थित आफन्त नाता पर्ने दिदीको घरबाट पक्राउ गरेर ल्याएको चौरजहारीका प्रहरी प्रमुख विष्टले जानकारी दिएका छन् ।
अभियुक्त भुपेन्द्र मल्लले ४ दिन अगाडि नै दाजु हरिबहादुर मल्लको हत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ । दाजुको हत्या पछि घटना लुकाउने उद्देश्यले भुपेन्द्रले आफैले घर नजिकै मकै बारीमा खाडल खनेर गाडेको बिष्टले जानकारी दिएका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार घरमा दाजुभाइ मात्रै बस्दै आएका थिए । उनीहरुकी एक ७० वर्षीया आमा छोरीको घरमा बस्दै आएकी छन् । बृद्ध आमा कान्छो छोरा भुपेन्द्रकै त्रासका कारण छोरीको घरमा बस्दै आएको खुल्न आएको प्रहरीले बताएको छ ।
अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक बिष्टका अनुसार हरिबहादुर र उनकी पत्नीबीचको सम्बन्ध बिग्रिएका कारण १५÷१६ वर्ष अगाडिदेखि उनी सल्यानस्थित माइतीमा छोरीसहित बस्दै आएकी छन् । भुपेन्द्रको भने बिहे भएको छैन ।
प्रहरीका अनुसार हरिबहादुरमा मानसिक समस्या रहेपनि उनले कसैको कुनैपनि विगार गरेका थिएनन् । उनी आमाकहाँ गएर साँझ विहान खाना खान्थे र सुत्न आफ्नै घरमा आउँथे । भाइ भुपेन्द्र भने घरमा आफै एक्लै खाना बनाएर खान्थे । भुपेन्द्रमा पनि मानसिक समस्या रहेको गाउँलेहरुले भन्ने गरे पनि अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।
हरिबहादुर साउन ५ गतेपछि आमाकहाँ खाना खान गएनन् । वृद्ध आमाको मनमा चिसो पस्यो । छोरा खान किन आएन, भनेर उनले छोरी र आफन्तलाई चिन्ता जाहेर गरिन् । सोधीखोजी थालिन् । हरिबहादुरको घरमा एउटा ड्रम थियो, त्यसको आवश्यकतापछि केही स्थानीय सो ड्रम लिन बुधबार बेलुका ४ बजेतिर हरिबहादुरको घर पुगे ।
त्यो क्षेत्रमा गन्ध आएको र हरिबहादुरको एउटा हात खाडल बाहिरै देखिएको स्थानीयले बताएका छन् । प्रहरी निरीक्षक बिष्टका अनुसार त्यो हात कुकुरले तानेको थियो । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरे ।
प्रहरीले रातभर पहरा दिएर शवलाई बिहीबार बिहान मात्र निकालेको चौरजहारी प्रहरी कार्यालयका प्रमुख बिष्टले बताए । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले बताएको छ । दाजुको हत्या अभियुक्त भाइ भुपेन्द्रलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा पठाइएको बिष्टले जानकारी दिएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्