सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो

वीरगञ्ज–६ माईस्थानका श्यामनारायण वर्णवाललाई एक साताअघि ज्वरो आयो । ७० वर्षका उनलाई ज्वरो आएपछि परिवारका सदस्यले नजिकैको मेडिकलबाट औषधि ल्याएर खुवाए । झन गाह्रो भएपछि सोमबार डा. निरज सिंहको क्लिनिकमा लगे । डा. सिंहले एडभान्स अस्पताल रिफर गरे ।

वर्णवालका छोरा प्रभाकरप्रसाद भन्छन्, ‘बुबालाई रातभर त्यही अस्पतालमा राख्यौं । मंगलबार बिहान आएर कोरोना चेकजाँचका लागि गण्डक लैजानुपर्छ भन्नुभयो, हामीले गण्डक लग्यौं । त्यही दिन अपरान्ह निधन भयो ।’

सुरुमा श्यामनारायणको उपचार गरेका डा. निरज सिंहका अनुसार स्वासप्रश्वासमा समस्या देखिएकाले अर्को अस्पतालमा रिफर गरिएको थियो । अस्पतालमा भर्ना गरेर छातीको एक्सरे गर्दा निमोनिया भएको देखियो । १२ घण्टासम्म अक्सिजन दिँदा पनि स्वास्थ्य स्थिर भएन ।

Death boy corona

त्यसपछि कोरोना भाइरस संक्रमण भएको हुन सक्ने आशंकामा गण्डक अस्पताल रिफर गरिएको डा. सिंह बताउँछन् । तर, गण्डक पुगेको केही घण्टामै उनको निधन भयो । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो ।

मृतकका छोरा प्रभाकरका अनुसार उनीहरुको घरमा गहना पसल छ । तर, बुबा पसलमा बस्दैनथे । ‘कहिलेकाँही आउनुहुन्थ्यो । तर काउन्टरमा होइन, पछाडि बस्नुहुन्थ्यो’ प्रभाकर भन्छन्, ‘उहाँलाई कसरी कोरोना संक्रमण भयो, अचम्ममा छौं ।’ जनस्वास्थ्य विज्ञहरु भने पर्सामा समुदाय स्तरमा संक्रमणको संकेत देखिइसकेको बताउँछन् ।

नारायणी अस्पताल, वीरगञ्जका मेडिकल सुपरिपेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार १८८ जनाको पेड पीसीआर टेष्ट गर्दा २५ जनामा कोरोना संक्रमण देखिएको छ । पेड पीसीआर भनेको सरकारले मापदण्डमा नपरेकाहरुले आफूखुसी पैसा तिरेर गरेको परीक्षण हो ।

कोरोना संक्रमणको शंका लागेर भन्दा पनि काठमाडौं जानुपर्ने, कार्यालय फर्किनुपर्ने जस्ता कारणले मानिसहरुले आफैं ५ हजार ५०० रुपैयाँ तिरेर पीसीआर टेष्ट गराउने गरेका छन् ।

‘हजारौं टेष्ट गर्दा पोजेटिभ आएकाहरुको तथ्यांक विश्लेषण गर्न पाएको भए राम्रो हुन्थ्यो । तर, अहिले हामीकहाँ भएको नम्बर सानो भए पनि संक्रमितमा विविधता छ । विद्यार्थी, कर्मचारी, सुरक्षाकर्मी र उद्योग व्यवसाय गर्नेहरु सबै परेका छन्’ डा. उपाध्याय भन्छन्, ‘संक्रमितमध्ये ४÷५ जनामा निमोनिया छ ।’

गण्डक कोभिड विशेष अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमित आईसीयूमा छन् । एकजनाको अवस्था गम्भीर भएकाले काठमाडौं पठाउन हेलिकप्टर माग गरिएको छ । २२ जनामा सामान्य लक्षण देखिएको छ भने अन्यको अवस्था सामान्य रहेको अस्पतालका को–अर्डिनेटर उदयनारायण सिंहले जानकारी दिए ।

यसले समुदायमा एउटा स्तरमा कोरोना संक्रमण छ भन्ने बुझ्नुपर्ने डा. उपाध्याय बताउँछन् । हुन पनि वीरगञ्जमा मात्र होइन, पर्सामा भेटिएका धेरै संक्रमितको संक्रमणको स्रोत पत्ता लागेको छैन ।

वीरगञ्जमा पहिलो पटक २९ चैतमा तीन भारतीय जमातीमा देखिएको कोरोना संक्रमणको समेत स्रोत पत्ता लागेको छैन । जनस्वास्थ्य विज्ञहरुका अनुसार धेरै केसको संक्रमण स्रोत पत्ता नलाग्नु भनेकै समुदायमा संक्रमण भएको संकेत हो ।

तर, समुदायमा कुन स्तरमा संक्रमण छ भन्ने पत्ता लागाउन समुदायमै गएर व्यापक परीक्षण गर्नुपर्ने डा. मदन उपाध्याय बताउँछन् । वीरगञ्ज महानगरपालिकाले एक घर, एक पीसीआर टेष्टको नारा दिएको छ । उसले नागरिक स्तरबाट रकम उठाएर नारायणी अस्पतालमा पीसीआर मेसिन पनि थप गरेको छ ।

तर, डा. उपाध्याय भने संक्रमित भेटिएको पकेट क्षेत्रमा व्यापक परीक्षण गर्नुपर्ने बताउँछन् । उनले भने, ‘कन्ट्याक ट्रेसिङमा सिमित मान्छे मात्र पर्छन्, त्यसैले पकेट क्षेत्रमा ब्यापक परीक्षण गर्नु उपयुक्त हुन्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम पनि समुदायमा गएर अलि धेरै स्वाब संकलन गर्न निर्देशन दिइसकेको बताउँछन् । ‘त्यसको नजिता आएपछि समुदायमा संक्रमण छछैन भन्न सकिन्छ’ उनले भने ।

कोरोनाबाट मृत्यु भएका बर्णलालको दाहसंस्कार सेनाले ग¥यो
यसैबीच कोरोना संक्रमणबाट मृत्यु भएका वर्णवालको बिहीबार दाह संस्कार गरिएको छ । नेपाली सेनाको टोलीले हिन्दु परम्परा अनुसार तिलावे नदीमा दाहसंस्कार गरेको हो ।

‘परिवारजनलाई दाह संस्कारका लागि आउनुस्, सुरक्षाका उपाय अबलम्बन गरेर दागबत्ती दिने व्यवस्था मिलाउँछौं भनेका थियौं’ चण्डीप्रसाद गणका मेजर प्रबल शाहले भने, ‘उहाँहरु आउन मान्नुभएन, नियमअनुसार गर्नुस् भनेपछि तिलावेमा दाहसंस्कार गरेका छौं ।’

परिवारका सदस्यलाई गण्डक अस्पतालमा अन्तिम पटक मुख हेर्ने व्यवस्था भने मिलाइएको थियो । साथै मृतकमा छोरा, बुहारी, नाति नातिना गरी परिवारका ५ सदस्यको बिहीबार नै नारायणी अस्पतालमा स्वाब संकलन गरिएको छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको कोभिड–१९ टास्क फोर्सको बैठकले निषेधाज्ञा र परीक्षणलाई सँगसँगै लैजानुपर्ने निष्कर्ष निकालेको छ ।

‘निषेधाज्ञा लगाएर मात्रै नहुने भयो, मास टेष्टिङको कामलाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने हुन्छ’ सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने, ‘त्यसका लागि महानगर प्रमुख, राजनीतिक दलसँग छलफल गर्ने र निर्णयमा पुग्ने सहमति भएको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्