सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

स्यार्पु तालमा बेपत्ता भएका अनिलको शव भेटियो

गत बुधबार रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा पर्ने स्यार्पु तालमा डुब्न लागेका साथीलाई बचाउन खोज्दा आफै बेपत्ता भएका अनिल घर्ती मगरको शव शनिबार भेटिएको छ । बुधबार देखि नै लगातार खोजी कार्य जारी राखेपनि अनिलको शव शनिवार दिउँसो १२ बजेतिर पानी मुनिबाट निकालिएको हो ।

बेपत्ता अनिल घर्ती मगरको शव स्थानिय गोर्ख बहादुर दाहालले ताल मुनिबाट निकालेका थिए । अनिलको शव तालको किनारबाट करिब २० मिटरको दुरिमा पानी मुनि डुबेको अवस्थामा भेटिएको थियो । अनिल संगै बेपत्ता भएका लोक बहादुर घर्ती मगरको शव बुधबार नै ताल किनारबाट करिब १० मिटरको दुरिमा भेटिएको थियो ।

मृतक २१ बर्षिय अनिल घर्ती मगर र २३ बर्षिय लोक बहादुर घर्ती मगर अन्य साथीहरु सहित बुधबार गाउँ नजिकैको स्यार्पु तालमा बल्छि थापेर माछा मार्न गएका थिए । संगै माछा मार्न गएका गाउँकै साथी १५ बर्षिय कमल बिक तालमा डुब्न लागेपछी उनलाई बचाउन खोज्दा अनिल र लोक बहादुरले ज्यान गुमाएका हुन् ।

सुरुमा कमललाई उद्धार गर्न गएका अनिलले आफुलाई गाह्रो भएको भन्दै सहयोग मागेपछी लोक बहादुर घर्ती मगर अनिलको उद्धार गर्न गएका थिए । तर अनिललाई उद्धार गर्न नपाउँदै लोक बहादुर पनि बिचमै डुबेका थिए । सुरुमा डुब्न लागेका कमललाई भने अरु स्थानियले सकुशल उद्धार गरेका थिए ।

तालमा डुबेर ज्यान गुमाएका लोक बहादुर घर्ती मगरको दाहसंस्कार गरिसकिएको छ भने शनिबार शव भेटिएका अनिल घर्ती मगरको शव पोष्ट मार्टमको लागी जिल्ला अस्पताल रुकुम पश्चिममा लगिएको प्रहरीले जनाएको छ । अनिलको शव पोष्टमार्टम भइसकेपछी उनको अन्त्येष्टि गरिने परिवारजनले बताएको छ ।

मृतक अनिल घर्ती मगर

साथीको उद्धार गर्दा ज्यान गुमाएका लोक बहादुर घर्ती मगर कोरोनाको महामारी सुरु भएपछी केही महिना पहिले मात्रै भारतबाट घर फर्किएका थिए । कोरोनाबाट बच्न गाउँ फर्किएका लोक बहादुरको अन्ततः साथीको ज्यान बचाउन खोज्दा गाउँ नजिकैको तालमा डुबेर इहलिला समाप्त भयो ।

तालमा बेपत्ता भएका अनिल घर्ती मगर घरका एउटा मात्रै छोरा थिए । लोक बहादुरका भने दुई दाजुभाई थिए । उमेरले भर्खर लाउँलाउँ खाउँखाउँ भन्ने बेलाका तन्नेरीको असामयिक मृत्यु भएपछी यतिबेला रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं. ५ को बडागाउँ शोकमग्न बनेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS