बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो
पछिल्लो समय नेपालमा कोरोनाबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गएको छ । लकडाउन खुलेसंगै कोरोना संक्रमण समुदाय स्तरमा ह्वात्तै देखा परेको छ भने मृत्यु हुनेको संख्या पनि उल्लेख्य बृद्धी भएको छ ।
बुधबार मात्रै यो समाचार तयार पार्दासम्म कोरोनाबाट ६ जनाले ज्यान गुमाएका छन् । यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८९ पुगेको छ । मृतकको आधिकारिक पुष्टि हुन भने बाँकी नै छ ।
ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिएका छन् ।
पाठकका अनुसार २६ गते राति उनलाई त्रिवी शिक्षण अस्पतालले इमर्जेन्सीमा रिफर गरेको थियो । अस्पताल ल्याउँदा उनलाई जीउभरी संक्रमण थियो । उनी दम तथा मुटु रोगी थिए । आज बिहान ४ बजे मृत्यु भएका उनको रिपोर्ट दिउँसो १ बजे आएको हो ।
किस्ट अस्पतालमै मंगलबार राति पनि काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको थियो । उनको पनि बुधबार बिहान कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । ति महिलाको राति १ बजेतिर निधन भएको अस्पताल स्रोतले बताएको छ ।
त्यसैगरी ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृतक जनकपुरकी ३८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ ।
त्यस्तै बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा दुई जनाको मृत्यु भएको छ । उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको गएराति मृत्यु भएको हो ।
गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । गुप्तामा कोरोना संक्रमण पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी छ । अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताएअनुसार दुवै जनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो ।
२५ वर्षीय तेली भारतको मुम्बईबाट केही दिनअघि घर आएका थिए । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएकाले कोरोना अस्पतालमा भर्ना गरिएको थियो । तेलीको स्वाबको पीसीआर परीक्षण नभएको र अब गरिने डा. थापाले बताए
उता सप्तरीमा पनि थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार राति सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
उनलाई चार दिनअघि ज्वरो आएको थियो । ज्वरो आउँदा उनले स्वाब परीक्षण गर्न दिएका थिए । मंगलबार राति रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो । एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका एक कर्मचारीले बताए ।
त्यस्तै मोरङका पनि थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।
मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका बासिन्दा हुन । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका पुरुषलाई गम्भिर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा बुधबार बिहान १ः२० मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले २६ साउनमा कोशी अस्पताल लगेका थिए । कोशीले रेफर गरेपछि धरानमा भर्ना गरिएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्