प्रधानमन्त्री ओलीले के कुरा गरे नरेन्द्र मोदीसंग
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता भएको छ । सीमा विवादसँगै दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन ।
परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने नेपालको प्रस्ताव समेत भारतले स्वीकार गरेको थिएन । तर ७४औं स्वतन्त्रता दिवसको अवसरमा दुई देशका प्रधानमन्त्रीस्तरमा टेलिफोन सम्वाद भएको छ ।
परराष्ट्रमन्त्रालयका अनुसार फोनवार्ताका क्रममा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा बधाई दिनुका साथै निरन्तर प्रगतिको शुभकामना दिएका छन् । उनले १० अप्रिल २०२० मा भएको सम्वाद स्मरण गरेका थिए ।
प्रधानमन्त्री ओलीले मोदीको छिमेक प्राथमिकता नीतिको प्रशंसा गर्दै सार्थक द्वीपक्षीय सहयोगका लागि नेपाल तत्पर रहेको बताएको मन्त्रालयले जनाएको छ । ओली र मोदीच कोभिड–१९ विरुद्ध भइरहेका पछिल्लो प्रयासबारे छलफल हुनुका साथै मिलेर काम गर्ने समझदारी भएको छ ।
प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध खोप बनाउने भारतसहित विश्वभरको प्रयास सफल हुने विश्वास व्यक्त गरे । दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका द्वीपक्षीय मुद्दामा सम्वादलाई जारी राख्ने सहमति भएको समेत परराष्ट्र मन्त्रालयद्धार जारी वक्तव्यमा उल्लेख छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्