सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रधानमन्त्री बने कर घटाउने किशिदाको घोषणा

जापानको सत्ताधारी दलका वरिष्ठ अधिकारी फुमिओ किशिदाले आफु भावी प्रधानमन्त्री चयन भएमा विद्यमान करलाई घटाउने बताएका छन् । फुमिओले मंगलबार सत्तारुढ लिबरल डेमोक्र्याटिक एलडिपीको तर्फबाट आफु आगामी प्रधानमन्त्री उम्मेद्वार बन्ने घोषणा गरेका छन् ।

उनले आफु प्रधानमन्त्री बनेमा बिक्री करको दरलाई घटाउने बताएका हुन् । ‘जापानको सामाजिक कल्याणको लागि बिक्री कर राजश्वको एक प्रमुख स्रोत हो’ ६३ बर्षिय किशिदाले भने–‘तर यसलाई १० प्रतिशतबाट कटौती गर्न सकिन्छ ।

आबे सरकारले गत अक्टोबरबाट जापानमा कर बृद्धि गर्दै ८ प्रतिशतबाट १० प्रतिशत पुर्याएको थियो । ‘जापानले अर्थतन्त्रलाई सहयोग पुर्याउन वित्तीय र मौद्रिक कदम चाल्नै पर्छ’, किसिदाले भने–‘किनकि कोरोना भाइरससंगको अपेक्षित लामो लडाईँको कारण मागको अवस्था मजबुद बनाउन अत्यावश्यक छ ।’

Fumio Kishido

सत्तारुढ पार्टीका सांसदहरुले हालसालै सरकारलाई बिक्री कर कटौती गर्न प्रस्ताव गरेका थिए । तर सरकारका वरिष्ठ अधिकारीहरुले भने उक्त प्रस्तावलाई अस्वीकार गरिदिएका थिए ।

प्रधानमन्त्री शिन्जो आबे नेतृत्वको प्रशासनले दुई पटक बिक्री कर बृद्धि गरेको छ । पुर्व विदेश मन्त्री समेत रहेका किशिदालाई प्रधानमन्त्री आबेले रुचाएका उत्तराधिकारीको रुपमा हेरिन्छ, तर मतदाता सर्वेक्षणमा भने उनको लोकप्रियता कम रहेको बताईन्छ ।

उम्मेद्वारी घोषणाका अवसरमा किशिदाले अर्थतन्त्र र विदेश नीतिमा आफुले सामथ्र्य देखाउन सक्ने बताउँदै जनताको कुरा सुन्ने नेताको रुपमा आफुले काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

सत्तारुढ दल एलडीपीका नीति प्रमुख रहेका किशिदाले देशले गरीबी र सामाजिक असमानता जस्ता चुनौतीमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

नेपाली इन जापानबाट साभार गरिएको

फेसबुकबाट कमेन्ट गर्नुहोस्