कांग्रेस महाधिवेशन आज, को बन्ला सभापति ?
सत्ताधारी दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा आज सोमबार बिहान ८ बजेबाट मतदान कार्यक्रम सुरु हुँदैछ । निर्वाचनका लागि राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ गरी तिन ओटा मतदान केन्द्र कायम गरिएको निर्वाचन समितिले जानकारी दिएको छ ।
तीन ओटा मतदान केन्द्रमा गरेर करिब एक हजार एक सय बुथ व्यवस्था गरिएको छ । नेपाली कांग्रेसको नयाँ केन्द्रीय समिति चयनका लागि सोमबार विहान ८ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । नयाँ नेतृत्व चयनका लागी महाधिवेशनमा ४ हजार ७ सय ४३ जना प्रतिनिधीले मतदान गर्नेछन् ।
राष्ट्रिय सभागृहमा रहेको महाधिवेशन मतदान केन्द्रमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।
भृकुटीमण्डपको प्रदर्शनी हलभित्र रहेको मतदानस्थलमा प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् भने प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्राङ्गणमा रहेको मतदानस्थलमा मतदान गर्नेछन् ।
महाधिवेशनमा आज सोमबार हुने निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनबाट सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सह–महामन्त्री निर्वाचित हुनेछन् । केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्