सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रुकुममा झैँ हुम्लामा ठकुरी केटी भगाउने वेपत्ता

अन्तरजातीय विवाह गरेकै कारण हुम्लाका एक युवालाई केटी पक्षका आफन्तहरुले कुटपिट गरी बेपत्ता बनाएका छन् । वेपत्ता बनाएको तीन दिन बितिसक्दा पनि युवकको अँझै अत्तोपत्तो लाग्न सकेको छैन । प्रहरीले बेपत्ता युवकको खोजी गरिरहेको छ ।

सर्केगाड गाउँपालिका—१ को जैर गाउँका १९ वर्षिय चन्द्रे कामीले मुगु जिल्ला सोरु गाउँपालिका–४, लिप्रकी १९ वर्षिया सुन्तली मल्लसँग एक महिना अगाडि भागी विवाह गरेका थिए । मंसिर २९ गते केटी पक्षका आफन्तहरु चन्द्रेको घरमै पुगेर केटाकेटी दुबैलाई माइती घरमा ल्याई कुटपिट गरेको र केटालाई ‘मल्लकी छोरी भगाउने’ भन्दै बेपत्ता बनाएको केटा पक्षका आफन्तले आरोप लगाउँदै आएका छन् ।

’ठकुरीकी छोरीसँग कामीको छोराले विवाह गरेको भन्दै केटी पक्षकाले छोरोलाई निर्घात कुटपिट गर्नुका साथै तीन दिनदेखि बेपत्ता पारेका छन् । घरमा तोडफोड गरेका छन्’, चन्द्रेका बुवा धनन्जय कामीले भने, ’घरमा आएर युवायुवतीलाई माइती पक्षले अपहरण शैलीमा लगेका छन् । सुन्तली उनकै माइतीमा भए पनि मेरो छोरा तीन दिनदेखि बेपत्ता छ ।’

बेपत्ता भएको तीन दिन कटिसकेपनि चन्द्रेको अझैँ अत्तोपत्तो छैन । तर, जिल्ला प्रहरी कार्यालय हुम्लाले भने बेपत्ताबारे खोजी गरिरहेको जानकारी दिएको छ । चन्द्रेले भगाएर ल्याएकी सुन्तली मल्ल भने गाउँमै भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । युवकलाई अझै भेटाउन सकिएको छैन ।

Fight

चन्द्रेले गत मङ्सिर ५ गते मल्लको घरबाटै सुन्तलीलाई भगाएर आफ्नो घरमा ल्याएका थिए । तर, २९ गते राति केटी पक्षबाट करिब २० जनाको समुह आएर छिमेकीका घरको ढोकामासमेत ताला लगाई केटा पक्षको घरको ढोका, झ्याल र छतको दाँतीहरु फाल्दै घरपरिवारलाई निर्घात रुपमा कुटपिट गरेको धनन्जय कामीले बताएका छन् ।

बेपत्ता चन्द्रेका बुवा धनन्जयले दुःख पोख्दै भनेका छन्–‘अन्तरजातीको युवती विवाह गरेकै कारण छोराले कुटाई खानुपर्यो, घरमा तोडफोड भयो, कुटपिटसँगै छोरालाई अपहरण गरी लिएर आजसम्म भेटाउन सकिएको छैन । खै, छोरालाई कर्णाली नदीमा फाले होलान् अत्तोपत्तो छैन ।’

छोराले बुहारी भित्राएको समयदेखि नै युवती पक्षबाट बारम्बार धम्की सहँदै आउनुपरेको पनि धनन्जयले सुनाएका छन् । धनन्जयका अनुसार केटी पक्षले हुम्लाबाट युवा र युवतीलाई लिएर मुगु पुगुन्जेल युवती सम्पर्कमा आएको तर, युवा भने बेपत्ता पारिएको थियो ।

त्यहाँ लगरे छोरो चन्द्रेमाथि निर्घात कुटपिट गरेर बेपत्ता पारिएको बुवा धनन्जयले प्रहरीसमक्ष उजुरी दिएका थिए । यस विषयमा हुम्ला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले घटनाको जानकारी आउनेबित्तिकै जानकारी दिइने र बेपत्ताको खोजी कार्य तीब्र पारिएको बताएका छन् ।

तीन वर्षदेखि दुबै जना प्रेम सम्बन्धमा थिए । विवाहपछि केटी पक्षकाले तल्लो जातको मान्छेले ठकुरीको छोरी विवाह गरेको भन्दै केटोलाई कुटपिट गरी बेपत्ता बनाएको र छोरीलाई घरमै राखेको जानकारी पाएको सर्केगाड–१ का अध्यक्ष गोकुल बुढाले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्