सडक र रेलको लिकमा चल्ने पहिलो बस जापानमा
टेक्नोलोजि (प्रविधि) को आविष्कारमा जापान अग्रणी देश हो । जापानले बनाएका प्रविधिलाई विश्वभरी विश्वशनिय रुपमा लिने गरिन्छ । विकास र आविष्कारकै सिलसिलालाई निरन्तरता दिँदै जापानले विश्वमै पहिलो पटक सडक र रेलको लिक दुबैमा चल्ने बसको पनि आविष्कार गरेको छ ।
जापानले २०२१ को डिसेम्बरको २५ तारिखबाट रेलको लिक र सडक दुबैमा गुड्ने बस सञ्चालनमा ल्याएको हो । जापानको पश्चिमी क्षेत्र शिकोकुमा रेल र सडक दुबैमा चल्ने बसको व्यवसायिक सञ्चालन गरिएको हो ।
तोकुसिमा प्रिफेक्चरमा रहेको संयुक्त सार्वजनिक निजी उद्यम ‘आसा कोस्ट रेलवे कम्पनी’ले सडक र रेलको लिक दुवैमा चलाउन मिल्ने उक्त बसलाई तोकुसिमा र कोची प्रिफेक्चर क्षेत्रमा चल्नेगरी सञ्चालनमा ल्याएको छ ।
रेल र बस दुबै तरिकाले चलाउन मिल्ने उक्त बस विश्वमै पहिलोपटक सञ्चालनमा आएपछी सो क्षेत्रमा पर्यटकको ध्यान तानिने स्थानिय वासिन्दाले विश्वास गरेका छन् ।
सडक र रेलकोे लिक दुबैमा चल्ने प्रत्येक बसमा १८ जना यात्रु बस्न मिल्ने सिट राखिएको छ । बसका रुपमा गुडेपछि रेलका रुपमा ट्रयाकमा कुद्न यसलाई आफ्ना पांग्रा परिवर्तन गर्न करिव १५ सेकेण्ड लाग्ने बताइएको छ ।
साप्ताहिक बिदाको दिन बाहेक अन्य दिनमा रेल र बसको रुपमा कुद्नको लागि १५ किलोमिटर क्षेत्र छुट्याइएको छ । साप्ताहिक बिदामा भने यो ५० किलोमिटर क्षेत्रमा आवाकाईनान् बुन्कामुरा सुविधा र ‘रोडसाईड स्टेशन’ तोरोमु कोचि प्रान्तको मुरोतो शहरमा संचालन हुनेछ ।
बस र रेल दुबै रुपमा चल्ने यो गाडीमा यात्रा गर्न केही सिट स्थानीय बासिन्दाको लागी प्राथमिकता तोकिएको छ । यस बाहेक बसमा यात्रा गर्न जो कोहीले वेवसाईटमार्फत सिट बुकिङ गर्न सक्ने व्यवस्था गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्