विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको
गतसाल झैँ यस बर्ष पनि विश्वको सबैभन्दा शक्तिशाली राहदानीको सुचीमा जापानको राहदानी पहिलो नम्बरमा परेको छ । नागरिकता तथा आवास सम्बन्धी बहुराष्ट्रिय परामर्शदाता कम्पनी हेन्ली एण्ड पार्टनर्सले सार्वजनिक गरेको सुची अनुसार जापान र सिंगापुरको राहदानी सबैभन्दा शक्तिशाली देखिएको हो ।
कुनै पनि देशको राहदानी कति शक्तिशाली छ भनेर मापन गर्न उक्त देशका नागरिक वा पासपोर्टधारीले कति देशमा सहज रुपमा आवतजावत गर्न अनुमति पाउँछन् भन्ने कुरालाई आधार मान्ने गरिन्छ । विश्वभरका देशको राहदानीको वर्गिकरण(र्याङ्किङ) गर्दै आएको संस्था द हेन्ली पासपोर्ट इन्डेक्सले सन् २०२२ मा कुन देशको पासपोर्ट कति शक्तिशाली छ भन्ने सुची प्रकाशन गरेको छ ।
सूचिअनुसार जापान र सिंगापुरको राहदानीको भिसा फ्रि अंक १९२ रहेको छ । अर्थात् जापान र सिंगापुरका राहदानीबाहक १९२ देशमा बिना भिसा आवतजावत गर्न पाउँछन् । गत वर्ष दोस्रो स्थानमा रहेको सिंगापुर यस बर्ष जापानसंग पहिलो स्थानमा बराबरीमा उक्लिएको हो ।
१९० मुलुकमा सहज पहुँचसहित जर्मनी र दक्षिण कोरिया दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा फिनल्याण्ड, इटली, लक्जेम्बर्ग र स्पेन छन् । चौथो स्थानमा अष्ट्रिया, डेनमार्क, फ्रान्स, नेदरल्याण्ड र स्वीडेन छन् । पाँचौँ स्थानमा आयरल्याण्ड र पोर्चुगल रहेका छन् ।
त्यसैगरी छैठौँ स्थानमा बेल्जियम, न्युजिल्याण्ड, नर्वे, स्वीजरल्याण्ड, बेलायत र अमेरिका छन् । अष्ट्रेलिया, क्यानडा, चेक गणतन्त्र, ग्रिस र माल्टा सातौँ स्थानमा रहेका छन् । आठौँ स्थानमा पोल्याण्ड र हंगेरी छन् भने नवौँ स्थानमा लिथुआनिया र स्लोभाकिया छन् । त्यस्तै १० औँ स्थानमा इस्टोनिया, लाट्भिया र स्लोभेनिया छन् ।
सुचीको पुछारमा परेको अफगानिस्थानको राहदानी संसारकै कमजोर राहदानी हो । अफगानी राहदानी बाहकले विश्वका २६ देशमा मात्र अनअराईभल भिसा पाउँछन् । ३७ मुलुकमा अनअराईभल भिसासहित प्यालेस्टाईन र नेपाल सुचिको १०५ औँ स्थानमा छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्