सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विश्वकप छनोटमा जापान समुहको दोस्रो स्थानमा

जापानले बिहीबार चीनलाई २–० को गोल अन्तरले पन्छाउँदै विश्वकप फुटबलको छनोटमा लगातार चौथो जित हात पारेको छ । जापानको साईतामामा भएको छनोट खेलको पहिलो हाफमा पेनाल्टीमा गोल गर्दै युया ओसाकोले चारपटकको एसियन च्याम्पियन जापानलाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा जुनया इतोले जापानको अग्रता दोब्बर बनाएका थिए ।

जितसँगै जापान समूह ‘बी’ को दोस्रो स्थानमा छ । टोलीले समूहको शीर्षस्थानमा रहेको साउदी अरेबियाविरुद्ध अर्को मंगलबार सोही रंगशालामा प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टिम कतारमा हुने विश्वकपमा सिधै पुग्नेछन् र छनोट प्रतिस्पर्धामा रहेको अस्ट्रेलिया जापानभन्दा १ अंक पछाडि छ । अस्ट्रेलियाले भियतनामलाई सहजै ४–० ले हराएको थियो ।

worldcup qualifier

चीनका डिफेन्डर वाङ सेन्चाओले जुनया इतोको क्रस रोक्ने प्रयासमा पाखुरामा बल लागेपछि जापानले १३ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै अग्रता लिएको थियो । त्यसमा चिनियाँ गोलकिपर यान जुनलिङले सही दिशामा डाइभ गरे पनि ओसाकोले कुनै गल्ती गरेनन् । सब्स्टिच्युट युता नाकायामाको क्रसमा इतोले ६१ औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई २–० ले अगाडि अग्रता दिलाएका थिए ।

कोभिड–१९ संक्रमण भएका व्यवस्थापक ग्राहम आर्नोल्डको अनुपस्थितिमा अस्ट्रेलियाले भियतनामविरुद्ध धेरै मिहिनेत गर्नुपरेन । जेमी म्याक्लारेनले ३० औं मिनेटमा गोलको खाता खोलेपछि टोम रोगिक, क्रेग गुडविन र रिले म्याकग्रीले पनि बललाई पोस्टको दिशा दिए । सातै खेल हारेको भियतनाम समूहको पुछारमा छ ।

अर्को खेलमा दक्षिण कोरिया लेबनानलाई १–० ले हराएर विश्वकप नजिक पुगेको छ । सिडोनमा पाउलो बेन्टोको टिमको जितमा चो गुए–सुङले गोल गरेका थिए । सन ह्युङ–मिन र ह्वाङ ही–चानलाई चोटको कारण गुमाएको कोरियाले समूह ‘ए’ मा जितका लागि निकै मिहिनेत गर्नुप¥यो । टोलीले छनोटका ७ खेलबाट १७ अंक जोडेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्