जापानमा एकैदिन ८० हजारलाई कोरोना संक्रमण
जापानमा पछिल्लो समय कोरोना भाइरसको छैठौँ लहर ओमिक्रोन भेरियन्ट आक्रामक रुपमा फैलिरहेको छ । बिहिबार कोरोना संक्रमितको संख्याले जापानमा नयाँ किर्तिमानी कायम गरेको छ । बिहिबार मात्रै जापानमा झन्डै ८० हजार कोरोना संक्रमित थपिएको पुष्टि भएको छ ।
जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बिहिबार जापानभर ७८ हजार ९३१ जनामा कोरोना संक्रमण पूष्टि भएको छ । यो एक दिनमा यति धेरै संक्रमित भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । बुधबार मात्रै संक्रमण पहिलो पटक ७० हजारमाथि उक्लिएको थियो ।
बिहिबार कोरोना संक्रमण दरले लगातार तेस्रो दिन पनि नयाँ किर्तिमानी छोएको हो । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट राजधानी टोकियो सहित देशका अन्य शहरहरुमा फैलिन थालेसँगै संक्रमणले भयानक रुप लिनसक्ने चौतर्फी चिन्ता गरिएको छ ।

बिहिबार सबैभन्दा धेरै कोरोना संक्रमित राजधानी टोकियोमा साढे १६ हजारमाथि उक्लिएको थियो । यही दरमा संक्रमण बढ्यो भने टोकियोमा आगामी हप्ता दैनिक संक्रमण २४ हजार आसपास पुग्ने चेतावनी दिइएको छ । होक्काइदो, ह्योगो, ओसाका, फुकुओकामा पनि संक्रमण दर उच्च स्तरमा छ ।
कोरोना संक्रमणका कारण बिहिबार जापानभर ४३ जनाको मृत्यु भएको जापानका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । कोरोना संक्रमितको संख्या थेग्न नसक्ने भएपछी अस्पतालहरुमा बेड पाउन मुस्किल भएको छ । कोरोना संक्रमित उच्च गतिमा बढ्दै गएपछी एम्बुलेन्स र विरामीलाई अस्पतालमा आकस्मिक सेवा पाउन कठिन हुन थालेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्