भारतले गोर्खा भर्ती ‘अग्नीपथ’ कार्यक्रम नरोक्ने
भारतले मुलुकभित्र र नेपालमा पनि विवादीत अग्निपथ कार्यक्रमलाई निरन्तरता दिने प्रस्ट पारेको छ । भारतीय विदेश मन्त्रालयले बिहीबार भारतीय सेनामा अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिक भर्तीलाई निरन्तरता दिने जनाएको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतले गोर्खा सैनिकलाई लामो समयदेखि भर्ती गरिरहेको बताएका थिए ।
उनले भनेका छन्–‘हामीले गोर्खा सैनिकलाई लामो समयदेखि भर्ती गरिरहेका छौं । हामी भारतीय सेनामा अग्निपथ कार्यक्रम अन्तरगत गोर्खा सैनिक भर्तीलाई निरन्तरता दिने छौं ।’ उनले यस विषयमा हालसम्म यही तथ्यांकमात्र रहेको बताए ।
भारतीय सेनाले ल्याएको ‘अग्निपथ’ योजनाअनुसार नेपालमा तत्काल गोर्खा भर्ती नहुने भएपछि भारतीय पत्रकारले विदेश मन्त्रालयका प्रवक्ता बाग्चीलाई प्रश्न गरेका थिए ।
नयाँ नीतिअनुसार भारतले गोर्खा भर्ना गर्न खोजे पनि नेपाल सरकारले राष्ट्रिय धारणा बनाएर औपचारिक प्रतिक्रिया दिने भन्दै तत्काल स्थगित गर्न आग्रह गरेको हो । अग्निपथ कार्यक्रम चार वर्षे सैनिक कार्यक्रम मात्र भएपछि बढी विवादमा आएको हो ।
परम्परागत रूपमा हुँदै आएको भर्ना जस्तै नयाँ भर्तीमा सहजीकरण गरिदिन भारतीय सेनाले ३१ जेठमा पत्र पठाए पनि नेपाल सरकारले अहिलेसम्म लिखित जवाफ पठाएको छैन । नेपालले जवाफ नदिएसँगै बिहीबार र अगामी भदौ १६ गते हुने भनिएको गोर्खा भर्तीको प्रक्रिया हालका लागि स्थगित भएको हो ।
भारत र बेलायतले सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार भारतीय सेना र बेलायती सेनामा नेपाली युवाहरूलाई भर्ती गर्दै आइरहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्