सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

न्युन आय भएकालाई फेरी पैसा बाँड्दै जापान

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले पुनः पैसा बाड्ने विचार गरिरहेका छन् । किशिदाले न्यून आय भएका घर परिवारलाई महँगीबाट राहत दिनका लागि भनेर ३० हजार येन उपलब्ध गराउने विचार गरिरहेको आफूले थाहा पाएको भन्दै बुधबार सरकारी समाचार संस्था जीजी प्रेसले समाचार छापेको छ ।

किशिदाले बालबालिकाहरु हुकाईरहेका घरपरिवारलाई प्रति बालबालिका थप ५० हजार येन दिने इच्छा देखाएको पनि सत्तारुढ गठबन्धनमा कनिष्ठ साझेदार कोमेइतोका महासचिव केइची इशीले भनेका छन् । किशिदासँग प्रधानमन्त्री कार्यालयमा भेटघाटपछि पत्रकारहरु समक्ष इशीले यस्तो बताएका हुन् ।

Japanese priminister fumio kishida
जापानी प्रधानमन्त्री फुमिओ किशिदा: फाईल तस्विर

बुधबार नै न्यून आय भएका घरपरिवारलाई वितरण गरिने नगदबारे प्रमुख सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीको नीतिगत प्रमुख कोइची हागिउदालाई एलडीपी अध्यक्षसमेत रहेका किशिदालाई सर्रसर्ती जानकारी दिएका बताइएको छ । महँगीका कारण मारमा परेका न्यून आय भएक घरपरिवारलाई टेवा दिन आफूले चाहेको किशिदाले हागिउदालाई भनेका छन् ।

खासगरी घरपरिवारले हुकाईरहेको बालबालिकाको संख्याका आधरमा सहायता दिनेमा किशिदा धेरै ईच्छुक देखिएका छन् । प्रधानमन्त्रीसँगको भेटघाटमा हागिउदा र इशीले दुबै आकाशिएको तरलीकृत ग्यास प्रयोगकर्ताहरुलाई सहायता दिने र धेरै परिमाणमा बिजुली खपत गर्ने कम्पनीहरुलाई टेवा दिने समेतका महँगीको भार कम गर्ने उपायहरुसहित आ–आफ्नो पार्टीको प्रस्ताव पेश गरेका थिए ।

कोरोना भाइरसको महामारी शुरु भएयता जापान सरकारले विशेषगरी न्यून आय भएका घरपरिवारलाई लक्षित गरेर राहतका कयौं कार्यक्रमहरु ल्याएको थियो । एउटामा भने देशभर रहेका जापानी र विदेशी समेत सबैलाई प्रति व्यक्ति १/१ लाख येन दिइएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्