उस्तै मुद्दा, भियतनामीलाई ८० लाख नेपालीलाई १० लाख
जपानको बन्दी गृहमा मृत्यु भएका एक भियतनामी पुरुषको परिवारलाई ८० लाख येन क्षतिपूर्ति तीन जापानको साइतामा प्रिफेक्चरले सहमति जनाएको छ । स्थानीय प्रहरी थानामा बन्दी भएको समयमा पाँच वर्ष अघि मरेका ती भियतनामीका परिवारलाई ८० लाख येन (झन्डै ६१ हजार ५०० डलर) तिर्न साइतामा प्रिफेक्चरल सरकारले सहमति गरेको हो । बिहिबार मृतकको परिवारको सदस्यहरुसँग अदालत बाहिरै सो सहमति भएको हो ।
मृतकका परिवारले प्रहरीले उपर्युक्त स्वास्थ्य हेरचाह दिन नसकेकै कारण मृत्यु भएको भन्ने आरोप लगाउँदै क्षतिपूति मागेर मुद्दा हालेका थिए । मृत्युका समयमा ती भियतनामीको उमेर ५७ वर्ष थियो । उनलाई सन् २०१८ मा अशोभनीय आक्रमणको अभियोगमा पक्राउ गरिएएको थियो । पेशी कुर्दा कुर्दै थुनामा परेको एक वर्ष पछि उनको मृत्यु भएको थियो ।
मर्नु भन्दा दुई महीना अघि ती व्यक्तिले पेट दुखेको भनेर गुनासो गर्न थालेको प्रहरीको भनाई थियो । आफूहरुले उनलाई चार पटक अस्पताल लगेको पनि मृतकका परिवारलाई प्रहरीले भनेको छ । ती व्यक्तिको मृत्यु भन्दा दुई दिन अघि उनका वकिलले प्रहरीले क्लाइन्टलाई डाक्टरमा लानु पर्ने माग गरेका थिए । तर उनलाई अस्पताल लान वेवास्ता गरियो । मृतकका परिवारले क्षतिपूर्ति माग्दै प्रिफेक्चरमाथि मुद्दा हालेका थिए ।
तर अदालतमा नगइकन दुई पक्षबीच क्षतिपूर्तिको रकमबारे सहमति भएको हो । साइतामा प्रहरीका सुपरिवेक्षकले एक विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै माफी मागेका छन् । मृत्यु भन्दा एक महीना अघि ती भियतनामी पुरुषलाई लगेको अस्पतालले पनि उनलाई करीब १५ हजार ४०० डलर तिर्न सहमति जनाएको छ । यो सहमति पनि अदालतमा नपुगीकन भएको हो ।
अस्पतालमा डाक्टरको खेलाँचीका कारण ती व्यक्तिको मृत्यु भएको भन्दै मृतकका परिवारले अस्पतालमाथि समेत मुद्दा हालेका थिए । जापानी हिरासतमा उपर्युक्त उपचार नपाएर मृत्यु भएका ३९ वर्षिय नेपाली अर्जुन बहादुर सिंहका परिवारलाई केही दिन अघि मात्रै टोकियो जिल्ला अदालतले १० लाख येन मात्रै क्षतिपूर्ति दिलाएको थियो ।
अर्काको क्रेडिट कार्ड राखेको आरोपमा सिंह ६ वर्ष अगाडि पक्राउ परेका थिए । हिरासतमा पेटी र डोरीले बाँधेर राख्दा रगत जमेर उनको मृत्यु भएको थियो । सिंहकी श्रीमतिले करीब ४ लाख ५० हजार डलर क्षतिपूर्ति मागेपनि अदालतले उनलाई ७ हजार ५०० डलर मात्रै क्षतिपूर्ति दिइयो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्