शक्ति राष्ट्रको कारणले सुरक्षा चुनौती बढ्योः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको भू-राजनीतिक अवस्थित र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीले सूरक्षा चुनौती बढी रहेको बताएका छन् । राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिलेका सुरक्षा चुनौतीका आयाम र त्यसका कारण हुनेसक्ने खतराबारे धारणा राखेका हुन् ।
‘वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको छ । देशको भू-राजनैतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिस्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रुपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव, राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिहरु लगायतका चुनौतीहरु आज हामीले एकसाथ सामना गर्नुपरिरहेको छ,’ प्रधानमन्त्री दाहालले भने ।
उनले यस्ता चुनौतीहरूको डटेर सामना गर्नुपर्ने उल्लेख गरे । ‘राजनीतिक, अर्थतन्त्र, कूटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउँदै समन्वय र सहकार्यको माध्यमबाट उचित ढंगबाट राष्ट्रिय हितमा प्रयोग गरी त्यस्ता चुनौतीहरुको डटेर सामना गर्न हामी सक्षम छौं भन्ने मैले विश्वास लिएको छु। यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने पनि म विश्वास दिलाउँछु’ उनले भने ।
प्रधानमन्त्री दाहालले परिवर्तित परिस्थितिमा राष्ट्रिय सुरक्षा नीतिको सही मूल्याङ्कन, अध्ययन र विश्लेषण गर्नु अत्यन्तै जरुरी रहेको उल्लेख गरे । ‘हाम्रो प्राथमिकता र विश्लेषण सुरक्षा खतराको बहु-आयामिक पक्षहरू र त्यसको समाधानको कुशलतामा केन्द्रित हुनुपर्दछ। त्यसैले तपाईंहरूलाई परम्परागत एवं विकसित सुरक्षा खतराका नयाँ आयामहरूको थप गहिरो अध्ययन र विश्लेषण गरी आवश्यक पहलकदमीका लागि पनि म विशेष अनुरोध गर्दछु,’ प्रधानमन्त्री दाहालले भने ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्