जापानमा महंगीले ९० प्रतिसतलाई हातमुख जोड्न मुश्किल
जापानमा अस्थायी कामदारहरुलाई आफ्नो दैनिकी चलाउन साह्रै सकस भएको एक अध्ययनले देखाएको छ । अधिकांशलाई महिनाभरि थापेको तलबले हात मुख जोर्न नै मुश्किल छ । अनियमित कामदारहरुको कार्यकारी समितिले गरेको सर्वेक्षणमा सहभागी भएका झन्डै ९० प्रतिशतले महँगीका कारण हात मुख जोर्न नै सकस भएको बताएका छन् ।
८० प्रतिशतले भने तलब बढ्दै नबढेको बताएका छन् । अहिले महँगी बढेको अवस्थामा कर्मचारीहरुलाई राहत दिन श्रम संगठन र कम्पनी व्यवस्थापन बीचको शुन्टो वार्तामा तलब बढाउने सहमति भएको थियो । केही कम्पनीहरुले कर्मचारीहरुलाई महँगी भत्ता नै बाडेको खबर पनि आए । तर यो सर्वेक्षणको नतिजाले भने अस्थायी, करारमा काम गर्ने कर्मचारीहरुको वास्तविक अवस्था चित्रण गरेको छ ।

सर्वेक्षण मार्च १ देखि ७ का बीचमा देशभरमा करीब ५०० जनालाई अनलाइनबाट प्रश्नावली पठाइएको थियो । सर्वेक्षणमा अनियमित काम गर्ने कामदारहरुलाई जनवरीयताको तलबबारे सोधिएको थियो । यसमा श्रम संगठनमा आबद्ध नभएकाहरुबाट समेत उत्तर संकलन गरिएको थियो । सहभागी भएका मध्ये ४० दशमलव ८ प्रतिशत पार्ट टाइम–कमदार थिए, २४ दशमलव ९ प्रतिशत डिस्प्याज कामदार, १७ दशमलव ६ प्रतिशत करारका थिए । १६ दशमलव ८ प्रतिशतको रोजगारीको हैसियत अलि जटिल खालको थियो ।
सबैभन्दा सहभागी सेवा उद्योगका थिए । आधा भन्दा धेरैको घन्टे तलब १ हजार २०० येन वा सो भन्दा कम थियो । महँगी आकाशिएकै समयमा हात मुख जोर्न गाह्रो भइरहेको छ कि भनेर सोध्दा ४० दशमलव ४ प्रतिशतले साह्रै गाह्रो भएको बताए । ४८ दशमलव ३ प्रतिशतको जवाफ चाँहि केही हदसम्म गाह्रै भन्ने थियो । कूल मिलाएर झन्डै ९० प्रतिशत महँगीको मारमा परेका छन् ।
तपाईलाई तलब वृद्धि चाहिएको छ भनेर सोध्दा ८७ प्रतिशत अति नै चाहिएको बताए । १० दशमलव १ प्रतिशतको जवाफ, केही भनेका थिए । तलब बढाइएको छ कि छैन भविष्यमा बढ्छ भनेर सूचित गरिएको छ त भनेर सोध्दा ७९ दशमलव ५ प्रतिशतले दुबै कुरा नभएको बताए । तलब बढ्यो भन्नेको संख्या ४ दशमलव ३ प्रतिशत मात्रै थियो भने ४ दशमलव ९ प्रतिशतलाई भने तलब बढ्छ भनेर भनिएको थियो ।
तलब बढ्ने मध्ये केहीको वृद्धि नगन्य थियो । फूलटाइम कर्मचारीको औसत तलब ३ लाखभन्दा धेरै भनेर जापानी सञ्चार माध्यमहरुले समाचार छापिरहँदा अस्थायी, करारमा काम गर्ने, डिस्प्याच कर्मचारीहरुको वास्तविक अवस्था भने यो सर्वेक्षणले छर्लङ्ग पारेको छ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्