सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा मे ८ बाट कोभिडसम्बद्व नियम खारेज

जापानले कोभिड–१९ का कारण सीमामा यात्रीहरुमाथि लगाएको नियन्त्रणका उपायहरु समाप्तै गर्ने भएको छ । मे ८ देखि जापानले कोभिडलाई मौसमी रुघाखोकीको श्रेणीमा राख्दैछ । योसँगै सीमा नियन्त्रणका उपायहरु पनि खारेज गरिने सोमबार सरकारले घोषणा गरेको हो ।

कोभिडका कारण प्रभावित बनेको सामाजिक र आर्थिक गतिविधिहरुलाई विस्तारै सामान्य बनाउनेतर्फ यो प्रमुख कदम हो । सरकारले सोही समयदेखि नयाँ जेनोमिक सर्भिलियन्स कार्यक्रम पनि शुरु गर्नेछ । यसमा ज्वरोलगायत लक्षणहरु देखिएका आगन्तुकहरुले स्वेच्छिक रुपमा परीक्षण गराउनेछन् ।

नयाँ ढाँचाले नारिता, हानेदा, चुबु, कान्साई र फुकुओका विमानस्थलमा आइपुग्ने यात्रीहरुलाई समेट्नेछ । सीमामा नियन्त्रण खुकुलो पारिरहँदा जापानले बुधबारदेखि मुख्यभूमि चीनबाट आउने यात्रीहरुमाथिको सीमा नियन्त्रणका उपायहरु पनि खुकुलो पारेको छ । अब भने त्यहाँबाट आउने यात्रीहरुले कोभिड विरुद्धको खोपको तीन ओटा मात्रा लगाएको प्रमाण पेश गर्नु पर्नेछ ।

अहिले भने मुख्यभूमि चीनबाट आउने यात्रीहरुले प्रस्थान गर्नु भन्दा ७२ घन्टा वा सो भन्दा कम अवधिभित्रको कोभिड परीक्षणको नकारात्मक प्रमाण पेश गर्नु पर्छ । डिसेम्बरको अन्त्यतिर चीनले कोभिडसम्बन्धी कठोर नीति एक्कासी अन्त्य गरेपछि त्यहाँ विष्फोटक ढंगले कोभिड बढ्न थालेपछि जापानले चीनबाट आउने यात्रीहरुमाथि सीमामा कडाई शुरु गरेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्