सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा माई नम्बर लिनेको संख्या ९ करोड नाघ्यो

जापान सरकार देशभित्र भएका सबैलाई माइ नम्बर कार्ड प्रणालीले समेट्ने लक्ष्य लगभग भेट्ने क्रममा छ । अप्रिल ४ तारिख मंगलबार यहाँको आन्तरिक मामिला मन्त्री ताकेआकी मासुमोतोले बताएअनुसार मार्चको अन्त्यसम्ममा ९ करोड ६१ लाख ४० हजार जनाले यो कार्डका लागि आवेदन दिएका छन् ।

यो भनेको जापानको जनसंख्याको करीब ७६ दशमलव ३ प्रतिशत हाराहारी हो । केन्द्र सरकारले मार्चको अन्त्यसम्ममा सबैका लागि कार्डको लक्ष्य तय गरेको थियो । यस अर्थमा सरकारको सो लक्ष्य पूरा भएको मान्छन् माचुमोतो । कार्ड पाउन भने शुरुमा आवेदन दिएपछि करीब एक दुई महीना कुर्नु पर्छ । मार्चको अन्त्यसम्ममा ८ करोड ४४ लाख ओटा कार्ड जारी भएको छ । यो पनि कूल जनसंख्याको ६७ प्रतिशत हो ।

जापानले सन् २०१६ को जनवरीमा कार्ड जारी गर्न शुरु गरेको थियो । गएको अक्टोबरमा जापानले सन् २०२४ को शरद ऋतुदेखि अहिलेको स्वास्थ्य बीमा कार्डलाई खारेज गरेर यसलाई पनि माई नम्बर कार्डमै समायोजन गर्ने घोषणा गर्यो । कार्ड लिनेको संख्या बढाउन सरकारले आवेदन दिनेहरुका लागि प्वाइन्ट दिने कार्यक्रम पनि शुरु गरेको थियो । योसँगै जापानमा कार्डका लागि आवेदन दिनेको संख्या ह्वात्तै बढेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्