सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानी सेनाको १० जना सवार हेलिकप्टर बेपत्ता

जापानको दक्षिणी प्रिफेक्चरमा १० जना सवार रहेको भू आत्मरक्षा बल (जीएसडीएफ)को एउटा हेलिकप्टर बेपत्ता भएको छ । बिहिबार साँझ ४ बजेदेखि यूएच–६० चपर हराइरहेको बिहिबार अबेर रात एउटा पत्रकार सम्मेलनमा जीएसडीएफले भनेको हो । सवारमध्ये एक जना लेफ्टिनेन्ट जर्नल समेत भएको बताइएको छ ।

चपर प्रिफेक्चरको मियाको टापु नजिकबाट हराएको हो । बहुप्रयोजनमा प्रयोग हुने सो हेलिकप्टरको हिस्सा भेटिएपछि विमान दूघर्टनामा परेको अनुमान गरिएको छ । टेक अफ लगत्तै राडारबाट हराएको थियो । समय तालिका अनुसार चपर साँझ ५ः०५ बजेतिर मियाको टापुमा फर्किनु पथ्र्यो । विमान हराइरहेको समयमा मौसम प्रतिकूल पनि नभएको बताइएको छ ।

विमानको जापानको तटीय सुरक्षा समेतका अन्य अधिकारीहरुले खोजी गरिरहेका छन् । हराएको भनिएको ठाउँमा पानीमुनि समेत विमान खोजी कार्य भइरहेको बताइएको छ । देशवासीलाई यो खबर दिएर चिन्तित बनाएकोमा जीएसडीएफका चिफ अफ स्टाफ्स जनरल योसुनोरी मोरिशिताले माफी समेत मागेका छन् । चपरमा सवार १० मध्ये एक जना दक्षिण पश्चिमी प्रिफेक्चर कुमामोतोस्थित जीएसडीएफको आठौं गणका प्रमुख लेफ्टिनेन्ट जनरल युइची साकामोतो समेत भएको मोरिशिताले बताएका छन् ।

हेलिकप्टर र सोमा सवार सबैको सम्भव भएसम्म छिटै खोज्ने हरेक प्रयास गरिने पनि उनले बताए । हराइरहेको विमानले एक पटकमा १४ जनासम्म मानिसलाई बोक्न सक्थ्यो । यसलाई दूर्गम टापु र प्राकृतिक विपद् भएको ठाउँमा बिरामीहरु ओसार पसारमा प्रयोग गर्ने गरिएको थियो । गएको वर्षका मार्चसम्ममा जीएसडीएसफसँग ४० ओटा यूएच–६० हेलिकप्टर थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्