सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रंगेली र डाइनियामा प्रहरीको गोलीले ३ जनाको मृत्यु

माघ ७, रंगेली । मोरङको रंगेली र डाइनियामा प्रहरीको गोली लागि ३ जनाको मृत्यु भएको छ । रंगेलीमा युवासंघले आयोजना गरेको कार्यक्रम विथोल्न पुगेका मोर्चाका कार्यकर्ताले प्रहरी घेरा तोडेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो ।

मोर्चाका कार्यकर्ताले कार्यक्रम विथोल्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई महिलाको मृत्यु भएको छ । रंगेलीमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर ५८ वर्षीया द्रोपतीदेवी चौधरीको मृत्यु भएको छ । उनी रंगेली ४ की हुन् । उनको शव प्रहरीले कोशी अञ्चल अस्पतालमा पुर्‍याएको छ ।

यस्तै घटनामा घाइते भएका महादेव ऋषिदेवको उपचारको क्रममा रंगेली अस्पतालमा मृत्यु भएको छ ।

यस्तै मोरङको डाइनियामा पनि प्रहरीको गोली लागि एक जनाको ज्यान गएको छ । मृत्यु हुने १८ वर्षकी शिबु माझी छन् । यो सहित आजको घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

Rangali-strike-Death

घाइते हुनेमा सत्यनाराण यादव, विरेन यादव र मुनाको मात्र नाम खुलेको छ । प्रहरी करिब ५० राउन्ड भन्दा बढी हवाइ फायर र दर्जनौ अश्रुग्यास प्रहार गरेर भीडलाई नियन्त्रण गर्ने प्रयास गरेको छ ।

खुकुरी प्रहारबाट ५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि गोल्डेन अस्पताल पुर्‍याइएको छ ।

एमालेसम्वद्ध युवा संघको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली जाने भनेपछि रंगेलीमा तनाव सुरु भएको थियो । मधेसी मोर्चाले रंगेली क्षेत्रमा बन्द आहृवान गर्दै लगातार प्रदर्शन गरेपछि रंगेली तनावग्रस्त भएको थियो ।

बिहीबार कार्यक्रममा प्रधानमन्त्री त गएनन् । तर, एमाले महासचिव ईश्वर पोखरेल उपस्थित भएको कार्यक्रम पनि मोर्चाले विथोल्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

एमालेका चार कार्यकर्तालाई लेखेटी लखेटी नियन्त्रणमा लिने प्रयास

त्यस्तै मोर्चाका कार्यकर्ताले मोरङको रंगेलीमा एमालेका नगर अध्यक्ष सहित् चार कार्यकर्तालाई लेखेटी लखेटी नियन्त्रणमा लिने प्रयास गरेका छन् । प्रहरीले चारै जनालाई उद्धार गरेको छ ।

रंगेलीमा आयोजित कार्यक्रममा जाने क्रममा एमाले नगर कमिटी अध्यक्ष दिनेश ठाकुरसहित चार जनालाई मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिने प्रयास गरेका हुन् । मोर्चाका कार्यकर्ताले लखेटेपछि आफूहरु स्थानीय अनिल महेश्वरीको घरमा लुकेको र प्रहरीले उद्धार गरेको ठाकुरले बताए ।

उनका अनुसार एक घन्टाभन्दा बढी समय उनीहरु घरभित्र लुगेका थिए भने बाहिरबाट मोर्चाका कार्यकर्ता ढोका फुटाएर प्रवेश गर्न खोजेका थिए । त्यसैबेला प्रहरी पुगेपछि उनीहरुको उद्धार भएको छ ।

भाग्ने क्रममा मधेसी मोर्चाका कार्यकर्ताले हानेको ढुंगा लागेर सामान्य चोट समेत लागेको ठाकुरले बताए ।

विराटनगरमा युवासंघका कार्यकर्तामाथि सांघातिक आक्रमण

उता विराटनगरको जलजला मोडमा मधेसी मोर्चाका कार्यकर्ताहरुले युवासंघका एक कार्यकर्तालाई सांघातिक आक्रमण गरी घाइते बनाएका छन् ।

युवासंघका पूर्व जिल्ला कमिटी सदस्य मनोज सिंहलाई मोर्चाका कार्यकर्ताहरुले आक्रमण गरेर घाइते बनाएका हुन् । उनको अवस्था गम्भीर छ । सिंहलाई उपचारका लागि न्यूरो अस्पताल लगिएको छ ।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस्