कांग्रेस–एमाओवादी प्रस्ताव मोर्चाद्वारा अस्वीकार
नेपाली कांग्रेस र एकीकृत माओवादीले प्रदेश सीमाकंन र नागरिकताको विषयलाई निश्चित समय सीमाभित्र टुंगो लगाउने गरी संविधान संशोधनको प्रस्ताव पारितका लागि सहयोग गर्न गरेको अाग्रह मधेसी मोर्चाले अस्वीकार गरेको छ ।
महाराजगञ्जस्थित कांग्रेस सभापति सुशील कोइरालाको निवासमा शनिवार साँझ बसेको तीन दलको वैठकमा कांग्रेस र एमाओवादीका नेताहरुले मधेसको समस्या समाधान गर्न आफूहरु गम्भीर रहेको भन्दै सीमाकंनको विषयलाई निश्चित समय सीमाभित्र टुंग्याउने गरी संविधान संशोधनको प्रस्ताव पारितका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
तर बैठकमा मधेसी मोर्चाका नेताहरुले भने सबै विषयलाई प्याकेजमै सम्बोधन गरेर संविधान संशोधनको प्रस्ताव अघि बढाउनु पर्ने अडान राखेका थिए । बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको सीमाकंनको विषयलाई तत्काल टुंग्याउनु पर्ने अडान राखेको स्रोतले बतायो ।
वैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वार्ता सकारात्मक भएको वताए । उनले सवै विषयमा मोर्चाका नेताहरुसँग छलफल भएको र मुद्दाको टु)गो लगाउन वार्तालाई कसरी अघि बढाउने भन्ने विषयमा प्रमुख तीन दल आइतवार विहान बसेर छलफल गर्ने बताए ।
यसैगरी कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले मधेसको समस्या समाधानका विषयमा छलफल भएको वताए । उनले बैठकमा आफूहरुले सीमांकनको विषयलाई निश्चित समयसीमा भित्र टुंग्याउने गरी संविधान संशोधनको लागि प्रस्ताव गरेको तर मोर्चाका नेताहरुले अस्विकार गरेको बताए । आचार्यले भने–‘हामीहरुले आन्दोलनलाई विश्राम लिने बाटोमा लैजाऊँ । सवै विषयमा समझदारी गर्ने बाटोमा जाऔँ भनेका छौँ । यो विषयमा उहाँहरु सकारात्मक नै हुनुहुन्छ । तर प्याकेजमै सहमति गर्नु पर्ने अडान मधेसवादी दलको छ ।’
बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै यादवले चार घण्टा चलेको छलफलमा कुराकानी गर्दै जाने सहमति भएको प्रतिक्रिया दिए । यादवले मधेश आन्दोलनले उठाएका मुद्दालाई ठोसरुपमा पूरा नगरेसम्म आफूहरुलाई मान्य नहुने वताए । उनले मुद्दाको ठोस रुपमा सम्बोधन भएपछि मात्रै आन्दोलन रोक्ने वताए ।
यादवले आफूहरुका मुद्दालाई सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताए । उनले आइतवार बस्ने संसद बैठक समेत अबरुद्ध गर्ने स्पष्ट पारे ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले मधेसमा जारी समस्या समाधान गर्ने विषयमा छलफल भएको र वार्ता सकारात्मक भएको वताए । केसीले मधेसी मोर्चाले प्रदेशको सीमाकंन, नागरिकताको मुद्दा प्याकेजमा सम्बोधन गर्ने गरी संविधान संशोधनको प्रस्तावलाई अघि बढाउनु पर्ने अडान राखेको वताए ।
सेटोपाटीसँग कुराकानी गर्दै केसीले भने–‘वार्ता र सहमति गर्दा केही चिज लिने र दिने हुन्छ । त्यसैले हामीले प्रदेशको सीमाकंन, नागरिकताको सवाल लगायतका विषयलाई निश्चित समयसीमाभित्र टुंग्याउने गरी अघि बढौँ भन्यौ । तर उहाँहरुले सवै विषयलाई प्याकेजमै टुंग्याउनु पर्ने अडान राख्नु भएको छ ।’
मधेसवादी दलले उठाएका मुद्दा सम्बोधन, अबरुद्ध संसद सुचारु गर्ने तथा संविधान संशोधनको प्रस्तावलाई पारित कसरी गर्ने भन्ने विषयमा टुंगो लगाउन प्रमुख तीन दलको बैठक आइतवार बस्ने छ ।
सेतोपाटीबाट जस्ताको तस्तै कपी गरिएको ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्