जापानमै पहिलो क्यासीनो रिसोर्ट ओशाकामा
जापान सरकारले देशकै पहिलो क्यासिनो रेजोर्ट खोल्ने प्रस्तावलाई अनुमति दिएको छ । मन्त्री परिषद्को कार्यालयले सो योजनालाई अनुमति दिएको स्रोतहरुलाई उद्धृत गर्दै क्योदो न्यूजले समाचार छापेको छ । कोरोना भाइरसको महामारीबीच संक्रमण फैलिन नदिन लगाइएका बन्देजहरु ह्टाइएकै बेलामा यो पहल गरिएको हो ।
उक्त रेजोर्ट सन् २०२९ देखि सञ्चालनमा आउने अनि यो जापानको पहिलो क्यासिनो रेजोर्ट हुने बताइएको छ । जापान विदेशी पयर्टकहरुको संख्या बढाउने योजनामा भएकै समयमा यो खबर आएको छ । यो इन्टिग्रेटेड रेजोर्ट (आईआर)मा ठूला होटल, कन्फ्रेन्स रुम र क्यासिनो सबै रहनेछन् । केन्द्र सरकारले छिटोमा शुक्रबारसम्म कार्यबलको बैठक बस्नेछ ।
प्रधानमन्त्री फुमिओ किशिदा र सम्बन्धित मन्त्रीहरु सहभागी रहने सो बैठकले ओसाका आईआरको योजनालाई मञ्जुरी दिने अपेक्षा गरिएको छ । ओसाका प्रिफेक्चरल र नगर सरकारले सन् २०२९ भित्रै सो रेजोर्टलाई सञ्चालनमा ल्याउने योजना बनाएको छ । रेजोर्ट भने ओसाका बेको युमेशिमाको विद्यमान कृत्रिम टापुमा खुल्नेछ ।
यो रेजोर्टले वार्षिक २ करोड आगन्तुक तान्ने अनि ओसाकाको अर्थतन्त्रमा ११ खर्ब ४० अर्ब येनको योगदान दिने आशा गरिएको छ । नागासाकी प्रिफेक्चरले यस्तै खालको इन्टिग्रेटेड रेजोर्ट खोल्ने योजना पेश गरेको थियो । तर सो योजना अगाडि बढ्न सकेको छैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्