सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सुध्रिँदै जापान र दक्षिण कोरियाको व्यापारसम्बन्ध

दक्षिण कोरियाले वस्तु व्यापारमा सहुलियतपूर्ण व्यवहार गरिने देशहरुको सूचिमा जापानलाई औपचारिक रुपमा राखेको छ । ऐतिहासिक विवादका कारण कूटनीतिक सम्बन्ध तितो बनेपछि यी छिमेकी देशहरुले तीन वर्ष अघि एक अर्काको व्यापार हैसियत घटाएका थिए ।

उत्तर कोरियाबाट खतरा बढिरहेकै समयमा दक्षिण कोरिया र जापानले वाशिङ्टनसँग आफ्नो तीनतर्फी सुरक्षा सहकार्य कसिलो बनाइरहेका छन् । यस्तोमा यी दुई छिमेकी देशले वर्षौसम्मको दरारलाई पाखा लगाएर सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन् । जापानले पनि कोरियाको अनुग्रहित व्यापार साझेदारको हैसियत फिर्ता दिने अपेक्षा गरिएको छ ।

जापानलाई जस्ताको तस्तै व्यवहार गर्ने क्रममा दक्षिण कोरियाले सन् २०१९ मा जापानलाई व्यापारको स्वेत सूचिबाट निकालेको थियो । त्यसपछि जापानले पनि चिप र डिस्प्ले बनाउन प्रयोग गरिने मुख्य केमिकल दक्षिण कोरियाली कम्पनीहरुलाई बेच्न बन्द गरिदियो । यसबारे दक्षिण कोरियाले विश्व व्यापार संगठनमा ऊजुरी नै दियो ।

पछिल्लो समय दुबै देशले दुई पक्षीय सम्बन्ध सुधारतर्फ पाइला चालिरहेका छन् । युक्रेनी युद्धको विरोधमा अमेरिकी नेतृत्वको प्रतिबन्धलाई टेवा दिन रुस र बेलारुसलाई प्रविधि र औद्योगिक निर्यातमा भने थप बन्देज लगाउने सोमबार दक्षिण कोरियाको व्यापार मन्त्रालयले भनेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्