सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानले जल सुरक्षाका लागी ड्रोन बनाउँदै

जापानले जल सुरक्षा बढाउन मानवरहित ड्रोनको विकास गर्ने भएको छ । चीनले साउथ चाइना सी आसपास आफ्नो सैन्य गतिविधि बढाइरहेकै समयमा टोकियोले आफ्नो पाँच वर्षे समुद्री नीतिको संसोधित मस्यौदामा ड्रोनको प्रयोग बढाउने वाचा गरेको सरकारी अधिकारीहरुले बताएका छन् ।

चीनको बढ्दो गतिविधिले हिन्द–प्रशान्त क्षेत्रको सैन्य सन्तुलनलाई तीव्र रुपमा बदलिरहेको चेतावनी समुद्री नीतिको आधारभूत योजनाको नयाँ संस्करणमा प्रधानमन्त्री फुमिओ किशिदा नेतृत्वको सरकारले दिएको छ । मस्यौदाले जापानले वायु ऊर्जा समेतको समुद्रमा अधारित ऊर्जाको प्रयोगलाई सहजीकरण गर्ने उपायहरु अपनाउने पनि प्रस्ताव गरेको छ ।

सरकारले नीतिको नयाँ संस्करणलाई छिटोमा यही महीना पारित गर्ने आशा गरिएको छ । मस्यौदामा जापानले चीनको तटीय सुरक्षा जहाज बारम्बार इष्ट चाइना सिको जापानी भुभागमा छिरेको भनेर नामै किटेर भनेको छ । टोकियोले आफ्नो भनेर दाबी गरेको सेन्काकु टापुका विषयमा जापान र चीनबीचको सम्बन्ध तिक्त बनेको छ ।

सेन्काकु टापुलाई चीनले भने ताईओयु नामले बोलाउँछ । चीनले रुससँग मिलेर आफ्नो सीमा नजिकको समुद्रमा सैन्य अभ्यास गरेको चिन्ताले पनि जापानलाई सताउन थालेको छ । यस्तोमा जापानले आफ्नो जल सुरक्षालाई बलियो बनाउन सक्दो प्रयास गरिरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्